आज ‘श्रीकृष्णजन्माष्टमी’ पर्व, श्रीकृष्ण मन्दिरहरुमा भक्तजनको भीड

Bhim Thapa Banner Headline with Image , Latest Update , MainNews/प्रमुख समाचार , ३ हप्ता अगाडि

काठमाडाैं । आज  ‘श्रीकृष्णजन्माष्टमी’ पर्व । देशभर भगवान् श्रीकृष्णको पूजा-आराधना गरी श्रद्धा-भक्तिपूर्वक मनाउँदैछन् ।

ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता भगवान् श्रीकृष्णको जन्म द्वापरयुगमा भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएकाले आजको दिनलाई ‘श्रीकृष्णजन्माष्टमी’ र रातलाई ‘मोहरात्रि’ भनिन्छ ।

यसदिन देशभरिका कृष्णमन्दिरमा भगवान् श्रीकृष्णको पूजा-आराधना, प्रवचन, भजनकीर्तन गर्नाका साथै विशेष गरी महिला, पुरुष ‘व्रत’ बसी रातभर जाग्राम बस्ने प्रचलन छ ।

अन्याय, अत्याचार र राक्षसी प्रवृत्तिबाट सम्पूर्ण मानवको रक्षा गर्न भगवान् विष्णुको आठौँ अवतारका रूपमा जन्मनुभएका श्रीकृष्णले आजीवन सत्यको पक्षमा रही सत्कर्मका लागि मानव समुदायलाई प्रेरित गर्नुभएको थियो ।

कुरुक्षेत्रमा कौरवसँगको लडाइँमा संलग्न पाण्डवमध्येका अर्जुनलाई उपदेश दिने क्रममा स्वयम् भगवान् श्रीकृष्णका मुखारविन्दबाट व्यक्त ‘श्रीमद्भागवतगीता’ पवित्र ग्रन्थ मानिन्छ ।

बाल्यकालदेखि नै आफ्ना विचित्र लीला देखाउनुभएका श्रीकृष्णले पुतना, कंश, जरासन्ध र शिशुपालजस्ता दानवी प्रवृत्तिको संहार गर्नुभएको पौराणिक ग्रन्थमा उल्लेख छ ।

यस अवसरमा आज पाटनको मङ्गलबजारस्थित प्रसिद्ध कृष्ण मन्दिर, राजधानीको उत्तरपूर्वी भेगस्थित कागेश्वरी मनोहरा नगरपालिकामा रहेको नवतनधाम र राजधानीका विभिन्न स्थानमा रहेका ठूला, साना श्रीकृष्ण मन्दिरमा पनि भक्तजनको भीड लागेकाे छ ।

यसै अवसर पारेर आज गाेकर्णेश्वर नगरपालिका वडा नं ९ आरूबारीस्थित राधाकृष्ण मन्दिरकाे उद्घाटन गरिएकाे छ । प्रतिनिधि सभाका सांसद एवं अर्थ समितिका सभापति सन्ताेष चालिसे र गाेकर्णेश्वर नगरपालिकाका मेयर दिपक रिसालले संयुक्त रूपमा पुननिर्मित उक्त मन्दिरकाे उद्घाटन गर्नुभयाे । गाेकर्णेश्वर नगरपालिकाे आर्थिक सहयाेगमा पुननिर्माण गरिएकाे साे मन्दिर निकै आकर्षक र सुन्दर देखिएकाे छ ।