भारतले ईपीजीको प्रतिवेदन नबुझ्नुपर्ने कुनै कारण छैन:प्रधानमन्त्री ओली

Bhim Thapa Banner Headline with Image , Latest Update , MainNews/प्रमुख समाचार , News/समाचार , ३ हप्ता अगाडि

काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओलीले ईपीजीको प्रतिवेदन बुझ्ने विषयमा भारतसँग कुरा भइरहेको बताउनुभएको छ । उहाँले प्रतिवेदन नबुझ्नुपर्ने कुनै कारण नभएको पनि बताउनुभयो ।

पूर्वउपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री कमल थापाको पुस्तक ‘नाकाबन्दी र भूराजनीतिक’ को आज काठमाडौंमा सार्वजनिक गर्दै प्रधानमन्त्री ओलीले ईपीजी प्रतिवेदन तयार भइसक्दा पनि भारतले नबुझेको भन्दै त्यसबारे दुई पक्षबीच कुरा भइरहेको बताउनुभएको हो ।

सन् १९५० को सन्धी पुनरावलोकन, आपसी सम्बन्ध सुधार, जल तथा पारवहन सम्झौतालगायत सीमा, सुरक्षा तथा व्यापारको विषयमा काम गर्ने कार्यादेश ईपीजी समूहलाई दिइएको थियो ।
नेपाल र भारतका चार-चार जना विज्ञ सम्मिलित प्रबुद्ध व्यक्ति समूहले प्रतिवेदन तयार पारेको ८ वर्ष भइसक्दा पनि भारतले बुझ्न नमान्दा थन्किएर बसेको छ । प्रधानमन्त्री ओलीले आफूहरुले दुई छिमेकी भारत र चीनलाई कसैकोविरुद्ध प्रयोग नगर्ने बताउनुभयो । ओलीले छिमेकी देशहरुबीच कुनै युद्धको खतरा नरहेको भन्दै सीमा नाका खोलेर अघि बढ्नुपर्नेसमेत बताउनुभयो ।

कार्यक्रममा राप्रपा नेपालका अध्यक्षसमेत रहेका पुस्तकका लेखक कमल थापाले दुई ठूला दल मिलेर सरकार गठन गरेकाले छिमेकी देशहरुसँग भएका सम्झौता र परियोजनाहरुलाई कार्यान्वयन गर्न सुझाव दिनुभयो । उहाँले २०७२ सालमा भारतले लगाएको नाकाबन्दीबारे आफूले संयुक्त राष्ट्रसंघको महासभामा समेत कुरा राखेको भन्दै भूराजनीतिक र सामरिकका विषयमा दुई देशबीच खुलस्त छलफल हुनुपर्ने बताउनुभयो ।