काठमाडाैं । परराष्ट्रमन्त्री डा राणा आरजु राणा देउवाले आफूले हालै गरेको भारतको औपचारिक भ्रमण सद्भावना भ्रमण रहेको बताउनुभएको छ । उहाँले संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिमा आज आफ्ना धारणा राख्दै भारत भ्रमण सद्भावना भ्रमण रहेको तर आफूले नेपालको हित र चासोका सबै विषयहरु वार्ताका क्रममा राखेको बताउनुभएको हो ।
उहाँले भारतका विदेशमन्त्री डा एस जयशङ्करको मैत्रीपूर्ण निमन्त्रणामा यही भदौ २ देखि ६ सम्म भारतको औपचारिक भ्रमण गर्नुृभएको थियो ।
सो भ्रमणका क्रममा यही भदौ ३ गते भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग नयाँ दिल्लीमा शिष्टाचार भेट गरेको र सो भेटमा नेपाल र भारतबीच रहीआएको मैत्रीपूर्ण सम्बन्धलाई थप सुदृढ तुल्याउने र आपसी हितका विषयमा विद्यमान सहकार्य विस्तार गर्नेेबारे छलफल भएको उहाँले बताउनुभयो ।
त्यस क्रममा आफूले प्रधानमन्त्री केपी शर्मा ओलीका तर्फबाट भारतका प्रधानमन्त्री मोदीलाई नेपाल भ्रमणको निमन्त्रणा हस्तान्तरण गरेको र भारतीय प्रधानामन्त्री मोदीले निमन्त्रणा सहर्ष स्वीकार गर्दै नेपाल भ्रमणका लागि सकारात्मक जवाफ दिनुभएको जानकारी पनि मन्त्री डा राणाले गराउनुभयो ।
त्यसैगरी विदेशमन्त्री जयशङ्कर र आफ्ना बीचमा भएको द्विपक्षीय भेटघाट महत्वपूर्ण रहेको मन्त्री डा रणाको भनाई थियो । त्यस भेटकाक्रममा नेपाल र भारतकाबीच व्यापार तथा पारवहनका क्षेत्रमा सहयोग बढाउने, ऊर्जाको क्षेत्रमा खासगरी नेपालबाट भारतमा निकासी हुने विद्युतको मात्रा बढाउँदै लैजाने, सीमापार कनेक्टिभिटी विस्तार गर्ने, नेपालमा भारतीय लगानी प्रबद्र्धन गर्ने तथा नेपालका लागि थप हवाई प्रवेश मार्ग उपलब्ध गराउन आवश्यक छलफल अगाडि बढाउने विषयमा कुराकानी भएको उहाँले बताउनुभयो ।
त्यसैगरी सो भेटमा बाढी तथा डुबान समस्या समाधानका लागि सम्बद्ध संयन्त्र परिचालन गर्ने, पञ्चेश्वर बहुउद्देश्यीय आयोजनालाई प्राथमिकताका साथ अघि बढाउने, खेलकुदका क्षेत्रमा खासगरी नेपालमा क्रिकेटको विकासका लागि खेलाडीहरूको क्षमता अभिवृद्धि तथा धनगढीको फाप्लामा क्रिकेट स्टेडियमको निर्माणका लागि कार्य गर्ने, सीमा पूर्वाधारको निर्माण तथा विस्तारमा सहकार्य गर्ने लगायत नेपाल–भारत सम्बन्धका समग्र पक्षमा छलफल भएको मन्त्री डा राणाले बताउनुभयो ।
एक प्रश्नको जवाफमा मन्त्री डा राणाले इपिजीको प्रतिवेदनका विषयमा यस भ्रमणका क्रममा दुवै तर्फबाट कुरा नउठेको पनि प्रष्ट गर्नुभयो ।नेपालको हित सुनिश्चित हुने गरी अन्तर्राष्ट्रिय जगतमा प्रतिनिधित्व गर्ने गरिएको भन्दै मन्त्री डा राणाले मुलुकको सर्वोपरी हितलाई ध्यानमा राखी विदेशस्थित कूटनीतिक नियोगहरू तथा नियोग प्रमुखहरूलाई परिचालन गर्ने विषयमा यो सरकार प्रतिवद्ध रहेको उहाँको भनाई थियो ।