१३ राजदूतको सुनुवाइ सकियो

Bhim Thapa Latest Update , MainNews/प्रमुख समाचार , News/समाचार , Politics/राजनीति , २ हप्ता अगाडि

काठमाडौं । संसदीय सुनुवाइ समितिले बुधबार प्रस्तावित चार जनाको सुनुवाइ गरेको हो ।  रुस, दक्षिण कोरिया, साउदी अरब र दक्षिण अफ्रिकाका प्रस्तावित राजदूतले रुसी सेनामा गएका नेपाली फिर्तादेखि श्रम, लगानी र रोजगारीको कोटा बढाउनेसम्मका प्रतिबद्धता जनाएका हुन् ।

१७ देशमा प्रस्ताव गरिएका मध्ये आजको सुनुवाइमा रुसी महासंघका लागि प्रस्तावित राजदुत जङ्गबहादुर चौहानले रुसी सेनामा भर्ना भएका नेपाली युवालाई फिर्ता गर्न पहल गर्ने बताउनुभएको छ ।

साउदी अरेबियाका लागि प्रस्तावित नरेशविक्रम ढकालले साउदीमा रहेका ४ लाखभन्दा धेरै नेपाली श्रमिकको हित, पर्यटन प्रवर्धन र नेपालमा लगानी भित्र्याउने गरी काम गर्ने प्रतिबद्धता जनाउनुभयो । दक्षिण कोरियाका लागि प्रस्तावित शिवमाया तुम्बाहाम्फेले उच्चस्तरीय भ्रमण, लगानी भित्र्याउने र नेपाली वस्तुको निर्यात प्राथमिकता भएको कार्ययोजना प्रस्तुत गर्नुभएको छ ।

दक्षिण अफ्रिकाका प्रस्तावित राजदूत कपिलमान श्रेष्ठले मानवअधिकार आयोगको सदस्य हुँदैमा आफूलाई राजदूत हुन नरोक्ने दाबी गर्दै संविधानले रोकेको भए प्रमाणित गर्न समितिलाई चुनौती दिनुभयो ।

समितिले १७ मध्ये १३ जनाको सुनुवाइ सकेको छ । बाँकी ४ जना प्रस्तावित राजदूतको सुनुवाइ २४ गते गर्ने तयारी छ ।