हरितालिका तीज पर्व मनाइयाे

Bhim Thapa Latest Update , News/समाचार , २ हप्ता अगाडि

काठमाडाैं । भाद्र शुक्ल तृतीयाका दिनमा मनाइने हरितालिका [तीज] पर्व आज देवाधिदेव महादेवको पूजा आराधना गरी मनाइएकाे छ । विशेषगरी हिन्दूधर्मालम्बी महिलाले महादेवको पूजा आराधना गरेर मनाउँने गरेका छन् । 

सत्य युगमा आजैको दिन निराहार व्रत बसी पार्वतीले महादेव स्वामी पाएकी कथा छ । यसकारण पनि आजको दिन निराहार व्रत बसेर विधिपूर्वक शिवपार्वतीको पूरा गरे मनोकामना पूरा हुने विश्वास रहेको छ । भाद्र शुक्ल तृतीयामा व्रत बसी शिव पार्वतीको पूजा, उपासना गरेमा पारिवारिक सुख, शान्ति र कल्याणको प्राप्ति हुने धार्मिक विश्वास छ। सत्ययुगमा हिमालय पुत्री पार्वतीले गौरीघाटमा बसी तपस्या गरेर महादेवलाई पति पाउने वरदान पाएको विश्वासमा यो व्रत सुरु भएको पौराणिक मान्यता छ।

तीज पर्वको अवसरमा आज काठमाडौँको पशुपतिनाथ मन्दिरसहित देशैभरीका शिवालयहरुमा भक्तजन महिलाको घुइँचो लागेको छ । पशुपति क्षेत्र विकास कोषले हरितालिका तिजका अवसरमा पशुपतिनाथको दर्शनका लागि आज बिहान तीन बजेदेखि नै चारै ढोका खोलिएको छ ।

पाशुपत क्षेत्रमा पूजाका लागि पुग्ने दर्शनार्थीले गौरीघाट उमाकुण्ड, दक्षिणामूर्ती बासुकी हुँदै पश्चिम ढोकाबाट बाहिरिने व्यवस्था गरिएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ ।

नेपाली सेनासहितको टोलीले स्वास्थ्य सेवा सञ्चालन गरेको छ । त्यस्तै गौशाला वनकाली क्षेत्रमा सवारी साधनलाई पूर्णरुपमा रोक लगाइएको छ । दर्शनार्थीका लागि तिलगंगा आँखा अस्पतालनजिकैको खुला स्थान, सिफल चौर र गुहेश्वरी पारीको खाली स्थानमा पार्किङको व्यवस्था मिलाएको छ ।