यसवर्षकाे भैरव पुरस्कार लक्ष्मण गाम्नागेलाई

Bhim Thapa News/समाचार , साहित्य/ पुस्तक , १ दिन अगाडि

गौतमलाई वाङ्मय र गिरीलाई प्रतिभा पुरस्कार

काठमाडौ । नेपाली साहित्यका विराट प्रतिभा भैरव अर्यालको स्मृतिमा स्थापित विभिन्न तीन पुरस्कार प्राप्तकर्ताहरूको नाम भैरव पुरस्कार गुठीले मंगलवार सार्वजनिक गरेको छ ।

भैरव पुरस्कार गुठीका अध्यक्ष वरिष्ठ साहित्यकार रोचक घिमिरेको अध्यक्षतामा बैठकले पुरस्कार प्राप्तकर्ताहरूको नाम अनुमोदन गरेको हो । जसअनुसार २०८१ सालको भैरव पुरस्कार हास्यव्यङ्ग्यकार लक्ष्मण गाम्नागेलाई प्रदान गरिने भएको छ । यो पुरस्कारको राशि १ लाख ११ हजार १ सय ११ रुपैया रहेको छ ।

१ लाख १ हजार १ सय ११ रुपैया राशीको भैरव वाङ्मय पुरस्कार चुडामणि गौतमलाई प्रदान गरिने गुठीले जनाएको छ । त्यस्तै ५१ हजार १ सय ११ रुपैया राशीको भैरव प्रतिभा पुरस्कार कलाकार लक्ष्मी गिरीलाई प्रदान गरिने भएको छ ।

पुरस्कार प्राप्तकर्ताहरूको नाम छनौट गर्न गुठीले साहित्यकार गोपाल बरालको संयोजकत्वमा साहित्यकारद्धय नरनाथ लुइँटेल र हरिकला उप्रेती सदस्य रहनु भएको चयन समिति गठन गरेको थियो ।

भैरव स्मृति दिवसको दिन यही असोज १९ गते शनिवार राजधानीको गोकर्णेश्वर—५ स्थित भैरव स्मृति भवनमा एक कार्यक्रम गरी घोषित पुरस्कारहरू वितरण गरिने गुठीका सचिव वसन्त रिजालले जानकारी दिनुभयो ।