भोलि र पर्सि हिमाली र पहाडी जिल्लामा रात्रि बस नचलाउन गृह मन्त्रालयको आग्रह

Bhim Thapa Banner Headline with Image , Latest Update , MainNews/प्रमुख समाचार , News/समाचार , ३ हप्ता अगाडि


तराई तथा मधेश क्षेत्रमा सकेसम्म भुइँतलामा अन्नपात नराख्न सुझाव

काठमाडाैं । यस वर्षको मनसुन सकिनै लाग्दा पुनः मनसुन सक्रिय भएकाे छ ।
बंगालको खाडीमा न्यूनचापीय प्रणाली बनेको र त्यो उत्तरपश्चिमतर्फ सर्दै आएको छ । यसले नेपालमा समेत प्रभाव पार्न थालेको हो । मौसम पूर्वानुमान महाशाखाले सात प्रदेशका ५६ जिल्लालाई उच्च जोखिम क्षेत्रमा राखेको छ ।

सम्भावित मनसुनी वर्षाप्रति सजकता अपनाउँदै गृह मन्त्रालयले भोलि ११ र पर्सि १२ गते हिमाली र पहाडी जिल्लामा रात्रि बस नचलाउन आग्रह गरेको छ ।गृह मन्त्रालय मातहतको राष्ट्रिय विपद जोखिम न्युनीकरण तथा व्यवस्थापन प्राधिकरणले आज विज्ञप्ति निकालेर रातिमा यात्रा गर्दा पहिरो र बाढीको आंकलन गर्न कठिन हुने जनाउँदै अत्यावश्यक काम परेमा बाहेक यात्रा नगर्न पनि सर्वसाधारणलाई सुझाव दिएको छ ।

तराई तथा मधेश क्षेत्रमा सकेसम्म भुइँतलामा अन्नपात नराख्न सुझाव दिइएको छ । यस्तै किसानलाई धान नकाट्न र काटिसकेको भए थन्क्याउन सुझाव दिइएको छ ।

आजदेखि चार दिनसम्म देशका अधिकांश स्थानमा भारी वर्षा र तराई मधेशमा हावाहुरीको सम्भावना समेत रहेको महाशाखाले जनाएको छ । सम्भावित जोखिमप्रति सतर्कता अपनाउन पनि महाशाखाले आग्रह गरेको छ ।

अहिले भित्रिएको मौसमी प्रणाली आइतबारसम्मै रहने छ । दसैंअघि नै नेपालबाट मनसुन बाहिरिन्छ वा बाहिरिदैन भन्ने यकिन हुन नसकेको मौसम पुर्वानूमान महाशाखाले जनाएको छ । नेपालबाट सामान्यतः हरेक वर्ष अक्टोबर २ मा मनसुन बाहिरिन्छ ।