बाढीले अरबाैंकाे क्षति, अधिकांश राजमार्ग अवरुद्ध

Bhim Thapa Banner Headline with Image , Latest Update , MainNews/प्रमुख समाचार , News/समाचार , ३ हप्ता अगाडि

काठमाडाैं ।  अविरल वर्षापछि आएको बाढीका कारण काठमाडौँ उपत्यकाकामा मात्रै २१ जनाको मृत्यु भएको छ । काठमाडौंमा ९, ललितपुरमा ९ र भक्तपुरमा ३ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । अझै केही बेपत्ता भएका कारण यो संख्या अझै बढ्न सक्ने देखिएको छ ।

प्रहरीले ललितपुरबाट मात्रै २८१ जनाको उद्धार गरेको छ । जसमध्ये सानेपाबाट ७७ जना, नख्खुबाट १४, नखिपोटबाट १५, बुङमतीबाट ७५, चापागाउँबाट ५५ जना, यूएनपार्कबाट १ जना र इमाडोल क्षेत्रबाट २८ जनाको जीवितै उद्धार गरिएको छ ।

ललितपुरको नखिपोटमा बाढीले बगाउँदा चार जना बेपत्ता भएका छन् । बिहान करिब ८ बजेतिर टहरामाथि उद्धारको प्रतिक्षामा बसेका उनीहरूलाई नख्खु खाेलाले बगाएकाे हाे ।

ज्यान जाेगाउन टहराकाे माथी बसेका उनीहरुकाे उद्धार गर्न स्थानीयवासीले प्रहरीलाई खबर गरेकाे भए पनि प्रहरी त्यहाँ पुगेकाे केही समयमै बाढीले बगाएकाे थियाे । उद्धारकाे सामग्रीबिनै दुईजना मात्रै प्रहरी त्यहाँ पुगेका थिए । तर निकै ढिलाई भएकाे स्थानीयवासीकाे भनाई छ ।

प्रहरीका अनुसार, बेपत्ता हुनेमा एक महिला, दुई पुरुष र एक जना बच्चा छन् । तत्काल उद्दार हुन नसकेपनि हराएपछि भने उनीहरुको खोजी भइरहेको छ। बाढी तथा डुवानले ठूलाे धनमालकाे क्षति भएकाे छ । त्यसकाे विवरण भने यकिन भइनसकेकाे प्रहरीले जनाएकाे छ ।

लगातारको वर्षाले देशैभरको जनजीवन प्रभावित भएको छ । काठमाडौं उपत्यका जोड्ने अधिकांश राजमार्गहरू पहिरोले अवरुद्ध बनेका छन् । काठमाडौं उपत्यकामा पनि धेरै स्थानमा भारी वर्षा भएको छ ।
 निरन्तरको वर्षासँगै काठमाडौंको टेकुसहित विभिन्न क्षेत्र डुबानमा परेका छन् । काठमाडौंको बागमती विष्णुमती धोबीखोला ललितपुरको कर्मनासा र भक्तपुरको हनुमन्तेमा जलसतह उच्च छ ।

शुक्रबारदेखि परिरहेको अविरल वर्षाका कारण उपत्यकाका विभिन्न स्थानमा नदी बस्तीमा पसेको छ । उपत्यकामै उद्दारको तयारी कमजोर देखिएपछि गृहमन्त्री रमेश लेखकले सिंहदरबारमा
केन्द्रीय सुरक्षा समितिको बैठक बोलाए उद्धार र राहत वितरणमा लाग्न निर्देशन दिएका छन् ।

यसैबीच प्रतिकुल मौसमका कारण हवाई उडान पनि प्रभावित बनेको छ । भारी वर्षाका कारण विराटनगर, भद्रपुर, सिमरा, भरतपुर, पोखरा, सुर्खेत र लुक्ला लगायतका विमानस्थलमा आजका लागि तय भएका नियमित उडान रद्द गरिएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल प्रशासनले जनाएको छ । यसैगरी माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको उत्पादन बन्द गरिएको छ ।