बाढी पहिरोले ६६ जनाको ज्यान गयो, सात दर्जन बेपत्ता

Dipak Pudasaini Banner Headline with Image , MainNews/प्रमुख समाचार , News/समाचार , प्रदेश , २ हप्ता अगाडि

काठमाण्डौ, १२ असोज । १० गते देखी परेको अविरल वर्षापछि आएको बाढी, पहिरो र डुबानमा परी यो समाचार तयार गर्दा सम्म देशभर ६६ जनाको ज्यान गएको र थप सात दर्जन बेपत्ता भएको जानकारी प्राप्त भएको छ । मौसमजन्य बिपद्मा परेर हालसम्म ३५ जना घाइते भएको सशस्त्र प्रहरीका प्रवक्ता कुमार न्यौपानेले जानकारी दिनुभएको छ । न्यौपानेका अनुसार उपत्यकामा मात्रै ३४ जनाको ज्यान गएको छ । काठमाण्डौमा ११, भक्तपुरमा ५ र ललितपुरमा १८ जनाको ज्यान गएको । यस्तै पाँचथरमा ५, धनकुटामा २, सोलुखुम्बुमा २, सुनसरीमा १, काभ्रेमा १४, धादिङमा १, सिन्धुपाल्चोकमा ४, दोलखामा ३ जनाको ज्यान गएको छ ।

ललितपुरमा १५, काभ्रेमा २६, काठमाण्डौमा ६, मकवानपुरमा ७, दोलखामा ३, झापामा ४, पाँचथरमा ५, सिन्धुपाल्चोकमा ५ जना तथा अन्य जिल्लासहित गरेर ७९ जना बेपत्ता रहेका पनि उहाँले बताउनुभयो । अहिलेसम्म २ हजार बढीको उद्धार गरिएको छ । दुई सयभन्दा बढी घर क्षति भएको पनि जनाइएको छ ।

नेपाल प्रहरीका सहप्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक विश्व अधिकारीले सुरक्षा निकाय तथा उद्धारमा संलग्न सङ्घसंस्थाको सहकार्यमा अहिले पनि उद्धार जारी रहेको जानकारी दिनुभयो । उहाँका अनुसार नेपाल प्रहरीबाट १० हजार बढी सुरक्षाकर्मी उद्धारमा परिचालन गरिएको छ । सोही हाराहारीमा सशस्त्र प्रहरीले पनि टोली परिचालन गरेको छ ।