उपनिर्वाचनका लागि २५ दल दर्ता

Bhim Thapa Banner Headline with Image , Latest Update , MainNews/प्रमुख समाचार , News/समाचार , १ हप्ता अगाडि

काठमाडाैं । आगामी मंसिर १६ गते हुने स्थानीय तहको उपनिर्वाचनका लागि २५ वटा दल दर्ता भएका छन् । दल दर्ताका लागि निर्वाचन आयोगले असोज १० देखि १६ गतेसम्मकाे समय दिइएको थियाे ।

आयोगले यसअघि सार्वजनिक निर्वाचन तालिका अनुसार अब मंसिर २ गते बिहान १० देखि बेलुका ५ बजेसम्म निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारको मनोनयन दर्ता हुनेछ । त्यही दिन बेलुका ५ देखि ६ बजेसम्ममा उम्मेदवारको सूची प्रकाशन हुनेछ । उल्लिखित सूचीमा रहेका उम्मेदवारको विरोधमा उजुरी दिने अवधि मंसिर ३ गते बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म हुनेछ । त्यही दिन दिउँसो ३ बजेपछि मंसिर ४ गते बेलुका ५ बजेसम्ममा मनोनयनपत्र र उजुरीउपर जाँचबुझ एवम् निर्णय गरी मंसिर ४ गते बेलुका ५ बजेदेखि ६ बजेसम्ममा निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारको नामावली प्रकाशन गर्ने कार्यक्रम छ ।

मंसिर ५ गते बिहान ९ बजेदेखि दिउँसो १ बजेसम्म उम्मेदवारको नाम फिर्ता लिन सकिनेछ भने सोही दिन दिउँसो १ बजेदेखि ३ बजेसम्ममा निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरी दिउँसो ३ बजेदेखि ५ बजे सम्ममा उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिने आयोगले जनाएको छ ।

मंसिर १६ गते बिहान ७ बजेदेखि बेलुका ५ बजेसम्म सम्बन्धित मतदान केन्द्रमा मतदान हुनेछ ।