सहकारी ठगी प्रकरणमा पक्राउ परेका रवि लामिछानेलाई पाेखरा लगियाे

Bhim Thapa Banner Headline with Image , Latest Update , MainNews/प्रमुख समाचार , १ घण्टा अगाडि

सहकारी ठगीसँगै संगठित अपराधको मुद्दा चल्ने

काठमाडाैं । सहकारी ठगीकाे आरोपमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने पक्राउ परेका छन् । प्रहरीले शुक्रबार साँझ काठमाडौंस्थित रास्वपाको केन्द्रीय कार्यालयबाट लामिछानेलाई पक्राउ गरेको हो । लामिछानेमाथि  सहकारी ठगी तथा सङ्गठित अपराधसम्बन्धी मुद्दा चलाउने गरी अनुसन्धान गरिने भएको छ ।
पोखराको सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाको रकम अपचलनमा संलग्न भएको आरोपमा थप अनुसन्धान गर्न प्रहरीले लामिछानेलाई पक्राउ गरेको जनाइएकाे छ ।
गोर्खा मिडिया नेटवर्कमा रकम ल्याएर अपचलन गरेको आरोपमा सभापति लामिछानेमाथि यसअघि कास्की जिल्ला अदालतमा मुद्दा परेको थियो ।
सूर्यदर्शन सहकारीपीडित सङ्घर्ष समितिले पूरक अनुसन्धान गरिपाउँ भन्दै विसं २०८० माघमा जिल्ला प्रहरी कार्यालय कास्कीमा निवेदन दिएका थिए । 
उन्नाइस जनालाई प्रतिवादी बनाएर मुद्दा दायर गरिएकामा पूर्वसञ्चालक शिवबहादुर गुरुङ, भविश्वर अर्याल, कोषाध्यक्ष कुमार रम्तेल, पूर्वउपाध्यक्ष कैलाश दर्लामीलगायत पूर्पक्षका लागि थुनामा छन् । लामिछाने विरुद्ध प्रहरीले सहकारी ठगीसँगै संगठित अपराधको कसुरमा पनि अनुसन्धान गर्न अदालतबाट अनुमति लिएको खुलेको छ । सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्था लिमिटेडको सम्बन्धी मुद्दामा २ कात्तिकमा लामिछानेलाई पक्राउ गर्न अनुमति जारी भएको पत्रमा उल्लेख छ ।
लामिछानेलाई सडक मार्ग हुँदै पाेखरा लगिदै गर्दा उनका समर्थकहरुले राजमार्गमा प्रदर्शन गरेका छन् ।

यसैबीच,सहकारी बचत रकम अपचलन प्रकरणमा नेपाल प्रहरीका पूर्वनायब महानिरीक्षक (डीआईजी)समेत रहेका गोर्खा मिडिया नेटवर्कका तत्कालीन संचालक छविलाल जोशीविरुद्ध कास्की जिल्ला अदालतले २० दिनको म्याद थप गरेको छ ।  पक्राउ परेका जोशीलाई कास्की प्रहरीले गत असोज ६ मा हिरासतमा लिएर अनुसन्धान गरिरहेको छ ।