काठमाडाैं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई आफूले प्रधानमन्त्रीको प्रस्ताव नगरेको दाबी गरेका छन्।
ललितपुरको खुमलटारस्थित आफ्नै निवासमा शनिबार आयोजित एक कार्यक्रममा अध्यक्ष दाहालले कांग्रेस महामन्त्री गगन थापाले भने जस्तो आफूले कांग्रेस सभापति देउवालाई प्रधानमन्त्री बन्न आग्रह नगरेको बताए ।
दाहालले कांग्रेस महामन्त्री थापाले सार्वजनिक गर्नुभएको अभिव्यक्तिको आलोचना गर्दै भने, ‘सत्ता परिवर्तनको कुरा अघि बढाएको कुरा बिल्कुल होइन । योभन्दा सफेद झुट अरु केही हुनै सक्दैन । गगन थापालाई मैले एउटा युवा नेताको रुपमा उहाँसँग धेरै संवाद, सहकार्य हुने गर्दथ्यो । अहिले केही महिनाभित्रै उहाँमा आएको परिवर्तन र उहाँले यति तल झरेर हुँदै नभएको झुटो कुरा जनतासँग बोलेको देख्दा गगनजीप्रति मलाई साँच्चै दया लागेको छ ।’
अध्यक्ष दाहालले कांग्रेस र एमालेको सरकार परिवर्तन गर्ने खेलमा आफू नरहेको भन्दै २०८४ सम्मै सरकार चलाउन् भन्ने पक्षमा रहेकाे पनि बताए ।