काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओली नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै साेमबार
बिहान ११ बजे चीन प्रस्थान गरेका छन्।
चीनका प्रधानमन्त्री ली छ्याङको मैत्रीपूर्ण निमन्त्रणमा ओली साेमबारदेखि २० गतेसम्म चीन भ्रमणमा गएका हुन् । ओलीको टोलीमा ३९ जना सरकारी भ्रमण टोलीमा र ४७ जना व्यापारिक क्षेत्रबाट रहेका छन् ।
प्रधानमन्त्री ओलीले मंगलबार चीनका प्रधानमन्त्री ली छ्याङसँग औपचारिक रूपमा द्विपक्षीय वार्ता गर्ने छन् । सोही द्विपक्षीय वार्तामा दुई मुलुक बीचका एजेन्डाहरूमा छलफल हुने तथा सहमति र सम्झौतामा हस्ताक्षर हुने छन् । नेपालको प्राथमिकता र राष्ट्रिय हितलाई दृष्टिगत गरी बिआरआइसम्बन्धी सहकार्य सम्झौता गर्ने तयारीमा सरकार जुटेको छ ।
त्यसपछि प्रधानमन्त्री ओलीले चीनका राष्ट्रपति सी चिनफिङसँग द्विपक्षीय भेटवार्ता गर्ने छन् । साथै, सोही दिन चिनियाँ जनकंग्रेसका स्थायी समितिका अध्यक्ष झाओ लेजीसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ ।
प्रधानमन्त्री ओलीले बुधबार पेकिङ विश्वविद्यालयमा सम्बोधन गर्ने कार्यक्रम रहेको छ । भ्रमणको चौथो दिन बिहीबार ओली बिहानै बेइजिङबाट काठमाडौं फर्कनेछन् ।