नेपाल र एडिबीबीच २१ अर्ब २३ करोडको सहयोग सम्झौता

Bhim Thapa Banner Headline with Image , MainNews/प्रमुख समाचार , Politics/राजनीति , १ वर्ष अगाडि

काठमाडाैं । नेपाल सरकार र एसियाली विकास बैंक (एडिबी)बीच यान्त्रिक सिँचाइ नवप्रवर्तन परियोजना र जलवायु उत्थानशील तथा जीविकोपार्जन परियोजना कार्यान्वयनका लागि रु २१ अर्ब २३ करोड (एक सय ५७ मिलियन अमेरिकी डलर) बराबरको सहुलियतपूर्ण ऋण तथा अनुदान सम्झौतामा हस्ताक्षर भएको छ ।

अर्थ मन्त्रालयमा बुधबार भएको सम्झौताअनुसार उक्त परियोजनाका लागि एडिबीले रु १४ अर्ब ८८ करोड ऋण तथा रु दुई अर्ब अनुदान दिनेछ । त्यस्तै, जलवायु उत्थानशील तथा जीविकोपार्जन परियोजनाका लागि रु एक अर्ब ३५ करोड ऋण रु दुई अर्ब ९७ करोड अनुदान सम्झौता भएको हो ।

सम्झौतापत्रमा अर्थसचिव डा रामप्रसाद घिमिरे र एडिबीका देशीय निर्देशक आर्नो कोश्वाले हस्ताक्षर गर्नुभयो ।मधेश प्रदेशको रौतहट र सर्लाही जिल्लामा लागू गरिने यान्त्रिक सिँचाइ परियोजनाअन्तर्गत उन्नत सिँचाइ प्रविधि लागू गरिनेछ । जसमा किसानले ‘प्रिपेड कार्ड’को माध्यमबाट आवश्यकतानुसार पानी उपयोग गर्नसक्ने सुविधा प्रदान गरिनेछ । यस परियोजनाबाट एक लाख २१ हजारभन्दा बढी किसान लाभान्वित हुने विश्वास लिइएको छ ।