रविबारे प्रचण्डको अभिव्यक्ति न्यायिक प्रकृयालाई प्रभावित गर्ने प्रयत्न:गृहमन्त्री लेखक

Bhim Thapa Banner Headline with Image , Latest Update , MainNews/प्रमुख समाचार , Politics/राजनीति , १ वर्ष अगाडि

चितवन । गृहमन्त्री रमेश लेखकले संविधान संशोधन सबै दलहरूको सहमतिमा हुने बताएका छन् ।

नेपाल प्रेस युनियन चितवनले आज चितवनमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले संविधान संशोधन सङ्घीय लोकतान्त्रिक शासन व्यवस्था र समावेशीतालाई बलियो बनाउनका लागि गर्न लागिएको बताए।

संविधानको अभ्यासको विषयमा समीक्षा, संविधानको अभ्यास गर्ने क्रममा देखिएका सबल पक्ष र दुर्वल पक्षलाई हेरेर सबै राजनीतिक पक्षसँग वार्ता छलफल गरेर सबैको सहमतिका साथ संविधान संशोधन गर्ने गृहमन्त्री लेखकले बताए ।

उनले भने, “संविधान संशोधनको विषयमा प्रारम्भिक छलफल सुरू भएको छ । संशोधन दुईवटा दलले मात्रै गर्ने होइन ।” सबै दललाई समेटेर संविधान संशोधन गर्छौँ ।”

सरकारको स्थायित्वनै कमजोर भएको अवस्थामा स्थिर सरकार गठन, भ्रष्टाचार नियन्त्रण, सुशासन, आर्थिक गतिविधिलाई अघि बढाउने, मुलुकको अर्थतन्त्र लयमा ल्याउन, विकास निर्माणलाई गति दिन नेपाली कांग्रेस र नेकपा ९एमाले० मिलेर सरकार बनेको मन्त्री लेखकले बताए।

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने प्रति सरकारको कुनै प्रतिशोध नरहेको बताउँदै उनले संसदीय छानबिन समितिले गरेको निर्णय कार्यान्वयनका सरकारले गरेको बताए ।

सहकारी ठगी मुद्दामा पक्राउ परेका रवि लामिछाने माथि पूर्वप्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गरेको पछिल्लो टिप्पणी दुर्भाग्यपूर्ण भएको लेखकले बताए।

प्रचण्डले केही समय अगाडि सामाजिक सञ्जाल फेसबुकमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिसमेत रहेका लामिछाने माथि सरकारले प्रतिशोधपूर्ण व्यवहार गरेको टिप्पणी गरेका थिए । 

सहकारीको रकम अपचलन गर्ने सबैमाथि अनुसन्धान हुने बताउँदै उनले व्यक्ति विशेषलाई अनुसन्धान गर्ने र कसैलाई छुट दिने कुरा नहुने भन्दै अपराध गर्ने मानिस सबैमाथि अनुसन्धान हुने बताए ।