कास्की । जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको फोटो सामाजिक सञ्जालमा सार्वजनिक गर्नेलाई प्रहरीले कार्वाही गर्ने जनाएको छ ।
बिहीबार एक विज्ञप्ती प्रकाशित गर्दै कास्की जिल्ला प्रहरी कार्यालयले अनधिकृत रुपमा फोटो सार्वजनिक गर्ने व्यक्तिलाई साइवर कानून तथा अन्य प्रचलित कानून बमोजिम कारवाही गर्ने प्रतिवद्धता व्यक्त गरेको छ ।
सामाजिक सञ्जालमा फोटो भाइरल भएपछि गृहमन्त्री रमेश लेखकले प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवरलाई बिहीबार बिहानै टेलिफोन गरी फोटोको वास्तविकताबारे सोधपुछ गरेका थिए ।
सो तस्वीर रास्वपाकै समर्थक डा. निकोलस भुषालले सिसीटीभीबाट खिचेर सार्वजनिक गरेको उनी आफैँले स्वीकारेका छन्।
डा. भुषालले सो तस्वीर सार्वजनिक गर्नु गलत भएको भन्दै सामाजिक सञ्जालमार्फत नै माफी मागेका छन् । उनले भनेका छन्, ‘मैले यो फोटो सीसीटीभी क्यामेराको फुटेजबाट खिचेको हुँ ।प्रहरीलाई बद्नाम गराउने मेरो नियत पनि होइन ।’
लामिछाने सहकारी ठगी प्रकरणमा हाल अनुसन्धानको क्रममा कास्की प्रहरी हिरासतमा छन ।