एनपीएलको उपाधि जनकपुर बोल्ट्सले जित्याे,जनकपुरमा खुसियाली

Bhim Thapa Banner Headline with Image , Latest Update , MainNews/प्रमुख समाचार , Sports/खेलकुद , १२ घण्टा अगाडि

काठमाडाैं । नेपाल प्रिमियर लिग (एनपीएल)को पहिलो संस्करणको उपाधि जनकपुर बोल्ट्सले जितेको छ । कीर्तिपुरस्थित त्रिवि मैदानमा शनिबार भएको फाइनल खेलमा जनकपुरले सुदूरपश्चिम रोयल्सलाई पाँच विकेटले हराउँदै उपाधि जितेको हो । 

योसँगै विजेता जनकपुरले एक करोड १० लाख र उपविजेता सुदूरले ५१ लाख प्राप्त गरेकाे छ। यो पुरस्कार नेपाली खेलकुदकै सर्वाधिक ठूलो धन राशीको पुरस्कार हो । प्लेअफमा पुगेको कर्णाली याक्स तेस्रो र चितवन राइनोज चौथो भयो । कर्णालीले २५ लाख र चितवनले १५ लाख रुपियाँ पुरस्कार पायो । 

यसैगरी कार पाउने भाग्यमानी खेलाडी उपविजेता सुदूरपश्चिम टोलीका कप्तान दीपेन्द्रसिंह ऐरी बनेका छन्। दीपेन्द्रले सर्वोत्कृष्ट नेपाली खेलाडी बन्दै ‘आमोडा एन्ड जेईको’ कम्पनीको ईभी कार पुरस्कार पाएका छन्।

टस जितेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिम रोयल्सले दिएको १८५ रनको लक्ष्य जनकपुरले १९.२ ओभरमा ५ विकेटको क्षतिमा पूरा गर्‍यो । जनकपुरले यसअघि लिग र क्वालिफायरमा सुदूरपश्चिमसँग पराजय बेहोरेको थियो । दुवै हारको बदला जनकपुरले फाइनलमा लियो ।

सुदूरपश्चिमले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १८४ रन बनाएको थियो । सुदूरपश्चिमका लागि सैफ जैबले सर्वाधिक ४३ बलमा ६९ रन बनाएका थिए । उनले विनोद भण्डारीसँग ११७ रनको साझेदारी गरेका थिए । विनोद भण्डारीले ३१ बलमा ४१ रनको पारी खेले । यस्तै, ब्रान्डन मक्मुलन र हरमित सिंहले समान १४ रन बनाए ।

जनकपुरका लागि मोहम्मद मोहसिन र किशोर महतोले समान तीन विकेट लिए । ललित राजवंशी र जिम्मी नीशमले एक(एक विकेट लिए ।

ब्याटिङतर्फ जनकपुरका लाहिरु मिलान्थाले सर्वाधिक ४९ बलमा ८७ रन बनाए । कप्तान आसिफ शेखले ३३ रन बनाउँदा मोहम्मद मोहसिन ९ रनमा पभेलियन फर्किए । यस्तै हर्ष थाकरले अविजित ३० रन बनाए भने जिम्मी नीशमले ४ रनको पारी खेले ।

बलिङतर्फ सुदूरपश्चिमका सैफ जैब, स्कट कुगेलाइन, दीपेन्द्रसिंह ऐरी र ईशान पाण्डेले समान एक विकेट लिए ।पछिल्ला खेलमा लाहिरु मिलान्थाले लय गुमाएका थिए । तर महत्त्वपूर्ण खेलमा मिलान्थाले विस्फोटक ब्याटिङ गर्दा जनकपुरले उपाधि उचाल्यो ।

यसैबीच, एनपीएल क्रिकेटको उपाधि जितेसँगै जनकपुरबासीले खुसियाली मनाएका छन् ।खेलप्रेमीहरूले जनकपुरमा मोटरसाइकल र्‍याली र रथयात्रा निकाल्दै अबिर दलेर एकअर्कामा खुसी साटासाट गरेका छन् ।