काठमाडाैं । नेकपा एमालेको सङ्गठित सदस्यबाट निष्कासित भएका पूर्वउपप्रधान तथा गृहमन्त्री भीम रावलले आफूले तत्काल कुनै पनि पार्टीमा जानेबारे नसोचेको बताएका छन्।
पाँच दशकदेखि राजनीतिमा सक्रिय रावलले नेकपा एकीकृत समाजवादीमा आबद्ध हुन आफूलाई प्रस्ताव आएको भन्दै तत्काल कुनै पार्टीमा गइनहाल्ने बताए। उनले आफ्ना शुभचिन्तक र समर्थकहरूको सुझावका आधारमा अबको राजनीतिक यात्रा तय गर्ने बताएका छन्।
विदेशी हस्तक्षेप, अर्थतन्त्र र नागरिकता लगायतका विषयमा आफूले नेकपा एकीकृत समाजवादीका धारणा माग गरेको बताएका रावलले एमालेमा रहँदा पनि यी विषयमा आफ्नाे अडान राख्दै आएका थिए ।
एकीकृत समाजवादीका नेताहरूसँगको व्यक्तिगत निकटताका कारण पनि कतिपयले एमालेले कारबाही गर्ने वित्तिकै रावल एकीकृत समाजवादीमा जाने आशङ्का गरेका थिए।
तीन वर्षअघि सौराहामा भएको एमालेको १०औँ महाधिवेशनमा उपाध्यक्षमा रहन गरिएको आग्रह अस्वीकार गर्दै ओलीसँग अध्यक्षको प्रतिस्पर्धी बनेपछि रावल ताराे बन्दै आएका थिए । जसअनुरुप पछिल्लो संसदीय निर्वाचनमा एमालेले रावललाई गृहजिल्ला अछाममा टिकट दिएको थिएन।
पछिल्लो संसदीय निर्वाचनमा एमालेले रावललाई गृहजिल्ला अछाममा टिकट दिएको थिएन।

