ताप्लेजुङको पाथीभरा क्षेत्रमा निर्माणाधीन केबलकारको विषयलाई लिएर ताप्लेजुङ सदरमुकाम फुङलिङमा शनिबार साँझ आन्दोलनरत पक्ष र प्रहरीबीच झडप भएको छ। झडपमा पाँच जना नेपाल प्रहरी र दुई जना आन्दोलनकारी घाइते भएका छन्।
प्रमुख जिल्ला अधिकारी नेत्र प्रसाद शर्माका अनुसार ‘नो केबलकार’ पक्षले बीरेन्द्र चोकमा राँके जुलुस निकालेपछि प्रहरी हस्तक्षेप भएको थियो। जुलुसलाई नियन्त्रणमा लिन खोज्दा प्रहरीमाथि लाठी र ढुंगासहितको आक्रमण भएपछि झडप भएको उनले बताए।
‘नो केबलकार’ समूह काफ्लेपाटीमा आन्दोलन गरेपछि आज सदरमुकाम फुङलिङ झरेको थियो। फुङलिङ बजारमा शान्तिपूर्ण र्याली प्रदर्शन गर्दै बीरेन्द्र चोक पुगेका उनीहरूले जुलुसलाई राँके जुलुसमा परिणत गरेका थिए। झडपका क्रममा केही आन्दोलनरत पक्षले फुङलिङ नगरपालिका वडा नं ५, बीरेन्द्र चोकका केही घरमा आगोका पुल्ठो फ्याँकेका थिए। घाइतेहरूको यकिन विवरण आउन बाँकी रहेको जनाइएको छ।
यसअघि बिहीबार काफ्लेपाटीमा भएको झडपमा प्रहरीसहित १४ जना घाइते भएका थिए भने माघ १२ गते भएको झडपमा २४ जना घाइते भएका थिए। पाथीभरा क्षेत्रमा निर्माणाधीन केबलकारको विषयलाई लिएर पटक-पटक झडप हुँदै आएको छ।

