नियम मिच्नेलाई कारबाहीसहित दिनभर सडकमा रोकिने
काठमाडौं उपत्यकामा होली पर्वलाई मध्यनजर गर्दै सुरक्षा व्यवस्था कडा बनाइएको छ।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक विनोद घिमिरेका अनुसार, ट्राफिक नियम उल्लंघन गर्ने जो-कोहीलाई कारबाहीको साथै दिनभर सडकमा रोक्ने व्यवस्था गरिएको छ।
उहाँले भन्नुभयो, “हामीले ट्राफिक नियम उल्लंघन गर्ने सवारीसाधनलाई कारबाही त गर्छौं नै, साथै उनीहरूलाई दिनभर सडकमा रोकिनेछ ताकि उनीहरूले होली मनाउन नपाऊन्।”
यसका लागि काठमाडौं, ललितपुर र भक्तपुरमा १२० भन्दा बढी जाँचस्थल तोकिएको छ। ट्राफिक प्रहरी र जनपथ प्रहरीको संयुक्त टोली परिचालन भई मादक पदार्थ तथा लागुऔषध सेवन परीक्षण गरिरहेको छ।
साथै, प्रहरीले मर्यादित रूपमा होली मनाउन अपिल गर्दै आफ्ना नजिकका तथा चिनजानका व्यक्तिसँग मात्र होली खेल्न अनुरोध गरेको छ। प्रशासनले उच्छृङ्खल गतिविधि गरेको पाइए कानुनी कारबाही गर्ने चेतावनीसमेत दिएको छ।
आज काठमाडौं उपत्यकालगायत पहाडी जिल्लामा होली मनाइँदैछ भने भोलि तराईका जिल्लाहरूमा होली खेल्ने परम्परा छ। कतिपय जिल्लामा दुई दिनसम्म होली मनाउने चलन रहेको छ।