काठमाडौं । सहकारी ठगी प्रकरणमा ५७ दिन हिरासत बसेर धरौटीमा छुटेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने विभिन्न अदालत धाइरहेका छन्। तर, उनले सञ्चारमाध्यमसँग खुलेर नबोल्ने रणनीति अपनाएका छन्।
शुक्रबार उच्च अदालत पाटन पुगेका बेला पत्रकारहरूले उनलाई ‘तपाईं राजावादी हो?’ भनेर प्रश्न गर्दा उनले स्पष्ट जवाफ दिएनन्। उनले भने, “देश गम्भीर अवस्थामा छ, अहिले कुनै आवेग वा उत्तेजनामा आएर बोल्ने पक्षमा छैन।”
सहकारी ठगी मुद्दामा काठमाडौँ, कास्की, रुपन्देही, र चितवनका विभिन्न अदालतमा मुद्दा खेपिरहेका लामिछानेमाथि ५ करोडभन्दा बढी ठगीको आरोप छ। पूर्वडीआईजी छविलाल जोशीसहित ३९ जनाविरुद्ध दायर मुद्दामा २ अर्ब ४१ करोड बिगो दाबी गरिएको छ।
हाल उनी उच्च अदालत पाटनमा काठमाडौँ जिल्ला अदालतको धरौटी आदेशविरुद्ध निवेदन दर्ता गरिरहेका छन्। चितवनमा सहकारी ठगी मुद्दामा धरौटी मागिएको आदेशविरुद्ध पनि उनी निवेदन दिने तयारीमा छन्।

