काठमाडौं । काठमाडौंको तीनकुने क्षेत्रमा कर्फ्यु आदेश जारी गरिएको छ। राजावादी प्रदर्शनकारी उग्र भएपछि सम्भावित दुर्घटनालाई रोक्न काठमाडौं प्रशासनले कर्फ्यु आदेश जारी गरेको हो। प्रदर्शनकारीहरूले निजी घर तोडफोड तथा आगजनी गर्न थालेपछि सुरक्षा व्यवस्थालाई मजबुत बनाउन कर्फ्यु लगाइएको हो।
जिल्ला प्रशासन कार्यालयले जारी गरेको आदेशअनुसार राति १० बजेसम्म सो क्षेत्रभित्र भेला, जुलुस, प्रदर्शन तथा घेराउ जस्ता गतिविधिहरू गर्न नपाइने उल्लेख छ। काठमाडौंका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीका अनुसार शान्तिनगर पुलदेखि जडीबुटी हुँदै मनोहरा खोला पुलसम्म कर्फ्यु आदेश जारी गरिएको छ।
तीनकुने क्षेत्रमा प्रदर्शन उग्र बनेपछि प्रहरीले अश्रुग्यास प्रहार तथा हवाई फायर गर्दै प्रदर्शनकारीलाई तितरबितर पारेको थियो। अहिले तीनकुने मैदान खाली गराइएको छ। प्रहरीले स्टेजमै अश्रुग्यास प्रहार गरी प्रदर्शनकारीलाई तितरबितर पारेको थियो।
प्रदर्शनकारीहरूले निजी घरहरूमा समेत ढुंगामुढा प्रहार गरेपछि प्रशासनले थप कडा कदम चालेको हो।कर्फ्यु आदेश जारी गर्नुअघि प्रहरीले माइकिङ गरी सूचना दिएको थियो।
गृह मन्त्रालयमा बसेको गृहमन्त्री रमेश लेखक, प्रहरी महानिरीक्षक दीपक थापा, काठमाडौंका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीसहितको बैठकले कर्फ्यु लगाउने निर्णय गरेको हो।
प्रदर्शनकारीहरूले तीनकुने क्षेत्रमा रहेका विभिन्न घरभवनमा तोडफोड गर्नुका साथै आगजनीसमेत गरेका छन्। तीनकुनेमा आयोजना गरिएको सभा नसकिँदै राजावादी समूहले प्रहरी घेरा तोड्दै अघि बढेपछि स्थिति तनावग्रस्त बनेको हो।