काठमाडौं। चैत १५ गते काठमाडौंको तीनकुनेमा राजसंस्था पुनःस्थापनाका लागि आयोजित प्रदर्शन हिंसात्मक बनेपछि त्यसको नेतृत्वकर्ता दुर्गा प्रसाईं र उनका अंगरक्षकलाई थुनामा राखेर अनुसन्धान गर्न अदालतले आदेश दिएको छ।
काठमाडौँ जिल्ला अदालतका न्यायाधीश शिशिरराज ढकालको इजलासले दुर्गा प्रसाईंसहित उनका अंगरक्षकलाई पनि १२ दिनसम्म थुनामा राखी अनुसन्धान गर्न अनुमति दिएको हो।
प्रदर्शनका कमाण्डरका रूपमा तोकिएका प्रसाईंको नेतृत्वमा भएको आन्दोलन हिंसात्मक बन्दा प्रहरी र प्रदर्शनकारीबीच झडप भएको थियो। झडपका क्रममा गोली लागेर दुईजनाको मृत्यु भएको थियो भने केही प्रहरी र सर्वसाधारण घाइते भएका थिए।
प्रदर्शनको क्रममा केही सवारी साधन, घर, पार्टी कार्यालय तथा सपिङ कम्प्लेक्समा तोडफोड र लुटपाटसमेत भएको थियो।
घटनापछि फरार भएका प्रसाईं भारतको आसाम पुगेका थिए। नेपाल प्रहरीको विशेष ब्युरोले आसाम प्रहरीले दिएको सहयोगमा उनलाई नियन्त्रणमा लिई शुक्रबार पूर्वी नाकामार्फत नेपाल ल्याएको हो।
प्रसाईंविरुद्ध राज्यविरुद्ध संगठित अपराध, ज्यान मार्ने उद्योगलगायतका अभियोगहरूमा अनुसन्धान थालिएको छ।
प्रहरीको नियन्त्रणमा रहेका प्रसाईंले भने आफैंले स्वेच्छाले गिरफ्तारी दिएको दाबी गरेका छन्।