वीरगन्ज घटनाबारे ५ बुँदे सहमति, दोषीमाथि कानुनी कारबाही गर्ने

Bhim Thapa Banner Headline with Image , Latest Update , १ हप्ता अगाडि


वीरगन्ज । जिल्ला प्रशासन कार्यालय पर्साको पहलमा आइतबार भएको सर्वपक्षीय भेलामा ५ बुँदे सहमति भएको छ। वीरगन्जमा हनुमान जयन्तीको शोभायात्राका क्रममा दुई समुदायबीच भएको झडपपछि उत्पन्न तनावलाई साम्य पार्न प्रशासनको पहलमा पाँच बुँदे सर्वपक्षीय सहमति भएको छ।

सर्वपक्षीय बैठकपछि सार्वजनिक गरिएको सहमतिमा दोषीमाथि कानुनी कारबाही गर्ने, घाइतेको उपचार तथा क्षतिपूर्तिको व्यवस्था गर्ने र सामाजिक सद्भाव कायम राख्ने विषयमा प्रतिबद्धता जनाइएको छ।

शनिबार अपराह्न ४:५० बजे विश्व हिन्दू परिषद् नेपाल, वीरगन्ज महानगर समितिले आयोजना गरेको शोभायात्रा वीरगन्ज–२ स्थित श्रीराम हल नजिकैको जामा मस्जिद अगाडि पुग्दा दुई समूहबीच विवाद चर्किएको थियो। झडपका क्रममा ढुंगा प्रहार, आगजनी र तोडफोडको घटना भएको थियो। तनाव बढेपछि प्रहरीले साँझ ५:४० बजे अश्रुग्यास प्रहार गरी स्थिति नियन्त्रणमा लिएको थियो।

घटनामा एक मोटरसाइकल र पसलको फ्रिजमा आगजनी गरिएको थियो भने पर्साका प्रहरी प्रमुख गौतम मिश्रसहित १७ जना सुरक्षाकर्मी र सर्वसाधारण गरी करिब ४० जना घाइते भएका थिए। अवस्था नियन्त्रण बाहिर जान नदिन प्रशासनले २४ घण्टे कर्फ्यु आदेश जारी गरेको थियो।

पाँच बुँदे सहमतिका मुख्य बुँदा यस्ता छन्:

१. घटनामा संलग्न दोषीहरूमाथि विस्तृत छानबिन गरी कानुनी कारबाही गरिने।

२. अन्तरधार्मिक र साम्प्रदायिक सद्भाव कायम राख्न सबै पक्ष पूर्ण रुपमा प्रतिवद्ध रहने र कारबाही प्रक्रियामा सहयोग गर्ने।

३. घाइतेहरूको नि:शुल्क उपचार गरिने र क्षतिपूर्तिका लागि प्रशासनले आवश्यक पहल गर्ने।

४. धार्मिक तथा सांस्कृतिक कार्यक्रमहरूमा हातहतियारको प्रदर्शन नगर्ने, यस्ता गतिविधिमा संलग्नलाई कारबाहीको दायरामा ल्याइने।

५. पर्सा जिल्लामा सञ्चालित सबै धार्मिक संघसंस्था, तिनद्वारा सञ्चालित विद्यालय तथा मदरसाको सूक्ष्म अनुगमन गरिने, गैरकानुनी वा अनुचित गतिविधि देखिएमा कारबाही गरिने।