एयर इन्डियाको विमान दुर्घटना : २४१ यात्रुको मृत्यु हुँदा एकजना मात्र बच्न सफल

Bhim Thapa Banner Headline with Image , MainNews/प्रमुख समाचार , प्रवास , ८ महिना अगाडि

अहमदाबाद । एयर इन्डियाको बोइङ ७८७ विमान बिहीबार दिउँसो अहमदाबादमा दुर्घटनाग्रस्त हुँदा २४२ सवारमध्ये २४१ जनाको मृत्यु भएको पुष्टि भएको छ। पछिल्लो अपडेटअनुसार, एक जना मात्र यात्रु चमत्कारीक रूपमा जीवित रहेका छन्।

भारतीय मूलका बेलायती नागरिक रमेश विश्वास कुमार, जो विमानको सीट नम्बर ११-ए मा बसेका थिए, दुर्घटनाबाट बच्न सफल भएका हुन्। उनी हाल अस्पतालमा उपचाररत छन् र होशमा रहेको बताइएको छ। उनको एक भिडियो पनि सार्वजनिक भएको छ, जसमा उनी घटनाबारे बताइरहेका छन्।

यसअघि समाचार एजेन्सीले सबैको मृत्यु भएको बताएका थिए। अब आधिकारिक रूपमा एक जनाको जीवित उद्धार पुष्टि गरिएको छ।

उडान संख्या AI-171 रहेको उक्त विमान अहमदाबादबाट लन्डनका लागि उडेको थियो। विमानमा १६९ जना भारतीय, ५३ जना बेलायती, ७ जना पोर्चुगाली र १ जना क्यानाडेली नागरिकसहित कुल २३० यात्रु सवार थिए। १२ जना चालक दल (क्रू) समेत विमानमा थिए। यात्रुहरूमा १०३ पुरुष, ११४ महिला, ११ बालबालिका र २ नवजात शिशु थिए।

दुर्घटनामा गुजरातका पूर्व मुख्यमन्त्री विजय रूपाणीको पनि निधन भएको पुष्टि भएको छ। भारतीय जनता पार्टीका राज्यसभा सांसद परिमल नाथवानीले सामाजिक सञ्जाल X मा यो जानकारी दिएका थिए। यद्यपि, केही समयपछि उनले उक्त पोस्ट हटाएका थिए।

विमान अहमदाबादस्थित सिभिल अस्पताल नजिकैको एउटा आवासीय भवनमा ठोक्किएको थियो, जहाँ अस्पतालका चिकित्सकहरू बस्दै आएका थिए। दुर्घटनाको समयमा उक्त भवनमा ५०–६० जना डाक्टरहरू थिए। तीमध्ये १५ जना भन्दा बढी घाइते भएका छन्।

विमानमा आगलागीका कारण अधिकांश शवहरू बिनाशकारी रूपमा जलेका छन्, जसले उनीहरूको पहिचान गर्न कठिन बनाएको छ। अधिकारीहरूले सबै मृतकको पहिचान डीएनए परीक्षणबाट मात्र सम्भव हुने जनाएका छन् ।