रुसको भुकम्पले जापानमा असर, २० लाख मानिसलाइ सुरक्षित ठाउँमा जान आग्रह

Dipak Pudasaini Banner Headline with Image , MainNews/प्रमुख समाचार , News/समाचार , प्रदेश , ६ महिना अगाडि

काठमाण्डौ, १४ साउन । रूसको पूर्वी क्षेत्र कामचाट्का प्रायद्वीपमा आज बिहान शक्तिशाली भूकम्प आएको छ। अमेरिकी भूगर्भीय सर्वेक्षण (युएसजीएस) का अनुसार नेपाली समय अनुसार भूकम्प बिहान ४.५४ बजे आएको हो । ८.८ म्याग्निच्युडकोको भुकम्प जसको केन्द्र सतहदेखि १९.३ किलोमिटर गहिराइमा थियो।
भूकम्पपछि कामचाट्कामा चार मिटरसम्मको सुनामी आएको र यसले धेरै भवनहरूमा क्षति पुगेको छ। कामचाट्काका गभर्नर भ्लादिमिर सोलोदोभले भिडियो सन्देशमार्फत बताए अनुसार भूकम्प दशकौँयताकै सबैभन्दा शक्तिशाली हो।
रुसमा गएको भूकम्पपछि आएको सुनामीले जापानमा पनि असर परेको छ । जापानी प्रसारण संस्था एनएचकेकाअनुसार देशको पूर्वी तटमा १ फिट अग्ला सुनामीका लहरहरू पुगेका छन्। जापान सरकारले लगभग २० लाख मानिसलाई सुरक्षित स्थानमा सार्न आदेश दिएको छ। फुकुशिमा परमाणु रिएक्टर पनि खाली गराइएको छ।
अमेरकी भूगर्भीय सर्वेक्षणका अनुसार यो भूकम्प इतिहासकै छैटौँ सबैभन्दा ठूलो हो। यसअघि सन् २०१० मा चिलीमा र सन् १९०६ मा इक्वाडोरमा यस्तै ८.८ म्याग्निच्युडका भूकम्प आएका थिए। चिलीको भूकम्पमा ५२३ जनाको ज्यान गएको थियो । इक्वाडोरको भूकम्पले १५०० जनाको ज्यान लिएको थियो।

कामचाट्कामै सन् १९५२ मा ९ म्याग्निच्युडको भूकम्प आएको थियो, जसलाई इतिहासकै पहिलो ९ म्याग्निच्यूडको भूकम्पका रूपमा लिइन्छ। त्यो भूकम्पले विशाल सुनामी ल्याउँदै हवाईमा ठूलो क्षति पुर्‍याएको थियो। अहिले जापानको होक्काइडो, कानागावा, वाकायामा लगायतका क्षेत्रमा सर्वाधिक असर देखिएको छ। सुनामीका कारण फेरी सेवा र हवाइ यातायातमा बाधा पुगेको छ। टोकियो नजिकैको सेनदाई अन्तर्राष्ट्रिय विमानस्थल बन्द गरिएको छ।


समाचार श्रोत ः एजेन्सीहरु