अदालतको अवहेलना मुद्दामा नारायणकाजी श्रेष्ठसँग लिखित जवाफ माग

Bhim Thapa Banner Headline with Image , News/समाचार , Politics/राजनीति , ५ महिना अगाडि


कसुर ठहरिए श्रेष्ठलाई एक वर्षसम्म कैद हुनसक्ने

काठमाडौं । अदालतको अवहेलनासम्बन्धी मुद्दामा नेकपा (माओवादी केन्द्र) का वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठसँग लिखित जवाफ माग गरिएको छ ।

सर्वोच्च अदालतका न्यायाधीशद्वय तिलप्रसाद श्रेष्ठ र श्रीकान्त पौडेलको संयुक्त इजलासले आज उनीसँग लिखित जवाफ आएको सात दिनभित्र सुनुवाइका लागि अग्राधिकारसमेत दिएको छ ।

मोरङ जिल्ला स्थायी घर भएका कानुनका विद्यार्थी आयुष दाहालले उपाध्यक्ष श्रेष्ठले यही भदौ ६ गते श्रेष्ठले सामाजिक सञ्जाल फेसबुकमा गरेको पोस्टबाट अदालतको अवहेलना भएको उल्लेख गर्दै अवहेलनासम्बन्धी निवेदन दायर गरेका थिए ।

निवेदनमा उपाध्यक्ष श्रेष्ठले भनसुन र घुसबिना अदालतबाट न्याय नपाउने भनी सामाजिक सञ्जालमार्फत अदालतप्रति अविश्वास फैलाउने खालको सामग्री पोस्ट गरेको उल्लेख छ ।

पूर्वउपप्रधानमन्त्री एवं गृहमन्त्रीसमेत रहेका उपाध्यक्ष श्रेष्ठलाई न्याय प्रशासन ऐन, २०७३ को दफा १७ (४) बमोजिम हदैसम्मको सजाय माग गरिएको छ । कसुर ठहरिए श्रेष्ठलाई एक वर्षसम्म कैद हुनसक्ने कानुनी व्यवस्था रहेको छ ।