कञ्चनपुर । इजरायलमा मारिएका कञ्चनपुरका विपिन जोशीको मंगलबार महाकाली नदी किनारमा राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गरिएको छ। भीमदत्त नगरपालिका–३ भाषीका २४ वर्षीय जोशीको महाकाली नदीको भुजेलाघाटमा सशस्त्र प्रहरीको सलामीसहित अन्त्येष्टि गरिएको हो।
विपिनको शव सोमबार दिउँसो इजरायलबाट काठमाडौं ल्याइएको थियो। त्यसपछि नेपाली सेनाको स्काइ ट्रकमार्फत धनगढी हुँदै उनको पारिवारिक घर पुर्याइएको थियो। नेपालस्थित इजरायली दूतावासका अधिकारीहरू पनि शव हस्तान्तरणका लागि विपिनको घरसम्म पुगेका थिए।
राति अबेर घर पुर्याइएको शव मंगलबार बिहान शवयात्रासहित महाकाली किनारमा लगिएको थियो। अन्त्येष्टिमा सुरक्षाकर्मी, स्थानीयबासी, जनप्रतिनिधि तथा परिवारका आफन्तहरूको सहभागिता रहेको थियो।
सुदूरपश्चिम विश्वविद्यालयको ‘लर्न एण्ड अर्न’ कार्यक्रमअन्तर्गत दुई वर्षअघि अध्ययनका लागि इजरायल गएका विपिन जोशी हमासको आक्रमणमा परेका थिए। लगातार दुई वर्षसम्म उनको अवस्था अज्ञात रहँदा पनि परिवारले आशा भने छाडेको थिएन। तर हालै इजरायल र हमासबीच भएको युद्धविरामपछि बन्धक सम्बन्धी विवरण संकलनको क्रममा २८ असोजमा जोशीको सन् २०२३ मै हत्या भएको पुष्टि भएको इजरायलस्थित नेपाली दूतावासले जानकारी दिएको थियो।
इजरायली फरेन्सिक परीक्षण रिपोर्टअनुसार विपिनको टाउकोमा गोली लागेर मृत्यु भएको उल्लेख छ।

