सोमबार रातिदेखि बुधबार बिहानसम्म हिमपात र वर्षाको सम्भावना

Bhim Thapa Banner Headline with Image , Latest Update , MainNews/प्रमुख समाचार , News/समाचार , ३ महिना अगाडि

काठमाडौँ, १० कात्तिक । पश्चिमी वायुको साथै अरब सागरमा बनेको न्यून चापीय प्रणालीको प्रभावका कारण आज रातिदेखि हल्कादेखि मध्यम हिमपात तथा वर्षाको सम्भावना देखिएको छ ।

यस प्रणालीको प्रभावले आज कात्तिक १० गते रातिदेखि कात्तिक १२ गते बिहानसम्म हल्कादेखि मध्यम हिमपात तथा वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाकाअनुसार गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरूमा हल्कादेखि मध्यम हिमपात तथा वर्षाको सम्भावना रहेको छ । साथै, गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा भारी हिमपातको पनि सम्भावना रहेको छ । तसर्थ, सम्भावित हिमपात÷वर्षाको कारणले दैनिक जनजीवन, पर्वतारोहणलगायत कृषि, पर्यटन क्षेत्रमा समेत असर पर्ने सम्भावना भएकाले आवश्यक सतर्कता अपनाउनुहुन महाशाखाले अनुरोध गरेको छ ।

यस प्रणालीलाई मौसम पूर्वानुमान महाशाखाले निरन्तर अनुगमन गरिरहेको छ र सोहीअनुसार नियमित रूपमा अद्यावधिक गर्दै जाने जनाएको छ ।