एनपीएल दोस्रो सिजनको उपाधि लुम्बिनी लायन्सले जित्यो

Bhim Thapa Banner Headline with Image , MainNews/प्रमुख समाचार , Sports/खेलकुद , २ दिन अगाडि

काठमाडौं । लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको दोस्रो सिजनको उपाधि जितेको छ। त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदान, कीर्तिपुरमा शनिबार सम्पन्न फाइनलमा लुम्बिनीले सुदूरपश्चिम रोयल्सलाई ६ विकेटले पराजित गर्दै पहिलो पटक एनपीएलको उपाधि जितेको हो।

सुदूरपश्चिमले टस जितेर ब्याटिङ गर्दा कप्तान रोहित पौडेलले ह्याट्रिक विकेट लिएपछि उनको टोली १९.१ ओभरमा ८५ रनमा अलआउट भयो। यो सिजनको सबैभन्दा कम स्कोर हो र सुदूरपश्चिमले एनपीएलको इतिहासमा पहिलो पटक १०० रन कटाउन सकेन।

लुम्बिनीको शानदार सुरुआतमा दिनेश अधिकारीले पहिलो ओभरमै ४ छक्का प्रहार गरेपछि २७ रन जोडियो। उनले १३ बलमा ४२ रन बनाउँदै तुफानी शुरुआत दिएका थिए। डी’आरसी शटले ४ ओभरमै ५८ रन जोडेर लुम्बिनीलाई बलियो स्थिति दिलाए। शट १३ बलमा १४ रन बनाउँदै आउट भए, भने हेमन्त धामीले दिनेश र शटलाई क्रमशः आउट गरे।

लुम्बिनीले ८५ रनको लक्ष्य ९ ओभरमै पूरा गर्दै फाइनल जितेको हो। कप्तान रोहित पौडेल १२ बलमा १६ रन बनाउँदै आउट भए। निरोशान डिकवेला ११ रन बनाएर अविजित रहन सफल भए, भने सन्दीप जोरा शून्यमा आउट भए।

यस जितसँगै लुम्बिनीले सुदूरपश्चिमको लगातार ६ खेल जितेको कीर्तिमान बराबरी गरेको छ। सुदूरपश्चिमले यस अघि लिग च्यालेन्जमा लगातार ६ खेल जितेको थियो, तर अन्ततः ७ औं खेलमा विराटनगरसँग पराजित भएको थियो।

लुम्बिनीले यस सिजनको अन्तिम ३ खेल जितेर प्लेअफमा स्थान बनाएको थियो। इलिमिनेटरमा काठमान्डु गोर्खाजलाई पराजित गर्दै क्वालिफायर २ मा विराटनगरलाई हराएर फाइनल पुग्ने यात्रा तय गरेको थियो।

यस जितसँगै लुम्बिनीले आफ्नो पहिलो एनपीएल उपाधि जितेको छ र सुदूरपश्चिमलाई दोस्रो वर्ष पनि फाइनलमा पराजित गर्यो।