राष्ट्रियसभा सदस्य निर्वाचन : कांग्रेस–एमालेसहितको गठबन्धनका उम्मेदवार विजयी

Bhim Thapa Banner Headline with Image , Latest Update , MainNews/प्रमुख समाचार , Politics/राजनीति , ४ दिन अगाडि

काठमाडौँ, ११ माघ । राष्ट्रियसभा सदस्यका लागि आगामी फागुन २० गतेदेखि रिक्त हुने १८ सदस्यका लागि आज भएको निर्वाचनमा नेपाली कांग्रेस, नेपाल कम्युनिष्ट पार्टी (एमाले) र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) गठबन्धनका उम्मेदवार विजयी भएका छन् ।

कोशी प्रदेशबाट नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी (एमाले) गठबन्धनका उम्मेदवार विजयी भएका छन् । खस आर्यतर्फ कांग्रेसका सुनीलबहादुर थापा यसअघि नै निर्विरोध निर्वाचित हुनुभएको थियो । दलित समूहमा एमालेका सोमनाथ पोर्तेल सात हजार ४२३ मतभार ल्याई विजयी भए । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का खेमराज सुन्दासले दुई हजार ३७ मतभार पाएको आयोगले जनाएको छ । महिला समूहमा पनि गठबन्धनकै एमालेका रोशनी मेचे विजयी भइन्। उनले सात हजार १७३ मतभार पाइन् । निकटतम प्रतिद्वन्द्वी नेकपाकी नमिता न्यौपानेले दुई हजार २६८ मतभार पाइन् । कोसी प्रदेशमा कुल मतदाता ३६० रहेकामा ३४५ मत खसेका थिए । मधेस प्रदेशमा पनि तीन दलीय गठबन्धनका उम्मेदवार विजयी भएका छन् । यहाँ कांग्रेसका उम्मेदवार रञ्जितकुमार कर्ण एवं धर्मेन्द्र पासवान, लोसपा (हाल जनता समाजवादी पार्टी (जसपा), नेपाल) का महन्थ ठाकुर र एमालेकी रेखाकुमारी झा निर्वाचित भइन् । कर्णले आठ हजार ९३ मतभार प्राप्त गर्दा उनका निकटतम प्रतिस्पर्धी नेकपाका रामनन्दन प्रसादले एक हजार ३६१ मत पाए। यस्तै, पासवानले सात हजार ९०४ मतभार प्राप्त गर्दा उनका निकटतम प्रतिस्पर्धी नेकपाका शम्भु पासवान हजारीले एक हजार ३७६ मत पाएको आयोगले जनाएको छ । ठाकुरले सात हजार ७२५ मतभार प्राप्त गर्दा निकटतम प्रतिस्पर्धी नेकपाका लक्ष्मण पौडेलले एक हजार ८०५ मत पाए । यसैगरी झाले सात हजार २२२ मतभार प्राप्त गर्दा नेकपाका शमीकुमारी अग्रवालले एक हजार ९४४ मतभर प्राप्त गरिन् । मधेस प्रदेशमा ३६४ मतदाता रहेकामा ३४१ मत खसेको आयोगले जनाएको छ ।

यस्तै बाग्मती प्रदेशमा गठबन्धनबाट कांंग्रेसका गीता देवकोटाले छ हजार २३९ मतभारसहित विजयी भइन् । प्रतिस्पर्धी नेकपाकी सरोजकुमारी झाले दुई हजार ५२२ मतभार पाए । देवकोटाका प्रतिस्पर्धी नेकपाका प्रेमप्रसाद सापकोटाले दुई हजार ५४१ मत पाएको आयोगले जनाएको छ । बाग्मती प्रदेशमा ३३८ मत रहेकामा ३१८ मत खसेको थियो ।

गण्डकी प्रदेशबाट कांग्रेसका जगत तिमिल्सिनाले पाँच हजार ३३ मतभार प्राप्त गर्दै विजयी भए । प्रतिस्पर्धी नेकपाका कपिल लामाले ९४१ मतभार पाए । महिला समूहमा एमालेकी सम्झना देवकोटा पाँच हजार १४ मतभारसहित विजयी भइन् भने प्रतिस्पर्धी नेकपाकी गोमा लुइँटेल घिमिरेले ९४१ मतभार पाइन् । उक्त प्रदेशमा २२८ मतदाता रहेकामा २२३ मत खसेको थियो । लुम्बिनी प्रदेशमा गठबन्धनबाट अपाङ्गतातर्फ कांग्रेसका बासुदेव घिमिरे ‘जङ्गली’ र अन्यमा कांग्रेसकै चन्द्रबहादुर केसी निर्वाचित भए । महिलातर्फ गठबन्धनबाट एमाले उम्मेदवार रामकुमारी झाँक्री विजयी भइन् । जङ्गलीले पाँच हजार ३२२ मतभार प्राप्त गर्दा प्रतिस्पर्धी नेकपाका सजन विकले एक हजार ६०१ मतभार पाए । केसीले पाँच हजार ९७७ मतभार प्राप्त गर्दा उनका प्रतिस्पर्धी नेकपाका बृहस्पति अधिकारीले एक हजार ८३२ मत प्राप्त गरे । यस्तै, झाँक्रीले छ हजार ३३० मतभार पाउँदा नेकपाका उम्मेदवार दुर्गा भण्डारीले एक हजार ३६२ मतभार पाए । लुम्बिनी प्रदेशमा २९९ मतदाता रहेकामा २८६ मत खसेको थियो ।

यसैगरी कर्णाली प्रदेशमा गठबन्धनबाट कांग्रेस कर्णाली प्रदेश सभापति ललितजङ्ग शाही र एमालेका मीनासिंह रखाल विजयी भए। शाहीले तीन हजार २७८ र रखालले तीन हजार १४५ मतभारसहित विजयी भएका हुन् । शाही अन्य र रखाल महिला समूहबाट विजयी भइन् । उनका प्रतिस्पर्धी नेकपाबाट बुद्धिप्रसाद शर्माले एक हजार ६३९ र अञ्जु महतरा (शाही) ले एक हजार ७३४ मतभार प्राप्त गरेका थिए । कर्णाली प्रदेशमा १९८ मतदाता रहेकामा १९१ मत खसेको आयोगले जनाएको छ ।

सुदूरपश्चिम प्रदेशमा गठबन्धनबाट कांग्रेसका खम्बबहादुर खाती र एमालेका लीला भण्डारी विजयी भएका छन् । खातीले तीन हजार ९६९ मतभार प्राप्त गर्दा उनका निकटतम प्रतिस्पर्धी नेकपाका टिकाराम जैशीले एक हजार ८०५ मतभार पाए। यस्तै, भण्डारीले तीन हजार ८९४ मतभार प्राप्त गर्दा उनका निकतम प्रतिस्पर्धी नेकपाका रोजी बस्नेतले एक हजार ६७६ मतभार पाइन् । सुदूरपश्चिम प्रदेशमा २२४ मतदाता रहेकामा २२० मत खसेको थियो । निर्वाचनमा प्रदेशसभा सदस्यको मतभार ५३ र स्थानीय तहका जनप्रतिनिधिको मतभार १९ कायम गरिएको थियो । निर्वाचनमा कांग्रेस नौ, एमाले आठ र लोसपालाई एक गरी तीन दलीय गठबन्धन भएको थियो । लोसपाको मधेस प्रदेशमा मात्र उम्मेदवारी परेको थियो ।