सासुको खातामा जम्मा भयो एक खर्ब भन्दा बढी

Dipak Pudasaini Banner Headline with Image , Business/अर्थ ब्यापार , Education , MainNews/प्रमुख समाचार , News/समाचार , प्रवास , ५ मिनेट अगाडि

काठमाडौँ, २० माघ । सामाजिक सुरक्षा कोषले ६ वर्ष ७ महिनामा एक खर्ब रुपैयाँभन्दा बढी योगदान रकम संकलन गरेको छ । कोषका अनुसार औपचारिक, अनौपचारिक, स्वरोजगार तथा वैदेशिक रोजगारीमा रहेका श्रमिकको सहभागितापछि योगदान यो रकम संकलन गरेको हो ।

कोषमा हालसम्म औपचारिक क्षेत्रका ६ लाख ७१ हजार श्रमिक, वैदेशिक रोजगारीमा रहेका करिब २० लाख र अनौपचारिक तथा स्वरोजगार क्षेत्रमा रहेका करिब १६ सय श्रमिक तथा व्यक्तिबाट योगदान संकलन गरिएको सामाजिक सुरक्षा कोषले जनाएको छ ।

संकलित रकमबाट कोषले दाबी भुक्तानी, अवकाश भुक्तानी र पेन्सनसमेत गरी हालसम्म करिब १८ अर्ब ५० करोड रुपैयाँ भुक्तानी गरिसकेको छ । अन्य स्रोतबाट प्राप्त आम्दानीसमेत जोड्दा कोषको हालको लगानी पोर्टफोलियो करिब एक खर्ब ३२ अर्ब रुपैयाँ पुगेको छ ।

कोषले सुरक्षा पक्षलाई प्राथमिकतामा राख्दै उक्त रकम मुद्रति निक्षेप, सरकारी ऋणपत्र, डिबेञ्चर, म्युचुअल फन्डजस्ता वित्तीय उपकरणमा लगानी गर्दै आएको छ । साथै, सामाजिक सुरक्षा कोषको रकम राज्यको भौतिक पूर्वाधार निर्माणमा लगानी गर्ने उद्देश्यले विशेष प्रकृतिका ऋणपत्र जारी गर्ने नीतिगत व्यवस्थाबारे विभिन्न तहमा छलफल भइरहेको कोषले जनाएको छ ।

योगदानकर्ताको मागलाई सम्बोधन गर्दै कोषले सामाजिक सुरक्षा कोष लगानी कार्यविधि, २०७७ को पहिलो संशोधनसमेत गरेको छ । संशोधित व्यवस्थाअनुसार अब विशेष सापटीका लागि १२ महिना र धितोमा आधारित सापटीका लागि १८ महिना योगदान गरेका योगदानकर्ताले पनि सापटी सुविधा लिन सक्नेछन् । यसअघि सापटी लिन न्यूनतम ३६ महिना योगदान अनिवार्य थियो ।

शुरुआतमा औपचारिक क्षेत्रबाट लागू भएका सामाजिक सुरक्षा योजनाको दायरा विस्तार गर्दै कोषले अनौपचारिक, स्वरोजगार तथा वैदेशिक रोजगारीको क्षेत्रसम्म समेटिसकेको छ । साथै, १ वैशाख २०८२ देखि सरकारी कोषबाट तलबभत्ता खाने कर्मचारीसमेत सामाजिक सुरक्षा कोषमा अनिवार्य रूपमा आबद्ध हुनुपर्ने व्यवस्था छ । हालसम्म ९१ स्थानीय तह र ३८ सार्वजनिक निकायले आफ्ना कर्मचारीलाई कोषमा आबद्ध गराइसकेका छन्।

सेवा तथा सुविधा प्रवाहतर्फ कोषले औषधि उपचार, स्वास्थ्य तथा मातृत्व सुविधाअन्तर्गत आठ लाख दावीका लागि दुई अर्ब ७३ करोड रुपैयाँ भुक्तानी गरिसकेको छ । यस्तै, दुर्घटना उपचारका १३ हजार दावी र रोजगारीजन्य दुर्घटनाबाट अशक्त भएका १८ जनालाई अशक्तता वृत्तिसहित २४ करोड ३२ लाख रुपैयाँ भुक्तानी गरिएको छ ।

कोषमा योगदान गरेका मृतक योगदानकर्ताका ८०९ परिवारलाई आश्रित परिवार सुरक्षा योजनाअन्तर्गत मासिक पेन्सन स्वरूप हालसम्म ३० करोड ८६ लाख रुपैयाँ प्रदान गरिएको छ । त्यसैगरी, एक लाख १६ हजार व्यक्तिलाई अवकाश भुक्तानीअन्तर्गत १५ अर्ब २४ करोड रुपैयाँ सुविधा उपलब्ध गराएको सामाजिक सुरक्षा कोषले जनाएको छ ।