काठमाडौँ, २० माघ । सरकारले सामाजिक सञ्जालसम्बन्धी विधेयक सङ्घीय संसद्बाट फिर्ता गर्न स्वीकृति दिएको छ ।
आज बसेको मन्त्रिपरिषद् बैठकले ‘सामाजिक सञ्जालको सञ्चालन, प्रयोग तथा नियमन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०८१’ संसद्बाट फिर्ता लिन स्वीकृति प्रदान गर्ने निर्णय गरेको गृहमन्त्री ओमप्रकाश अर्यालले जानकारी दिए ।
राष्ट्रियसभाको १७ औँ अधिवेशनमा दर्ता भएको उक्त विधेयक हाल सभाअन्तर्गतको विधायन व्यवस्थापन समितिमा विचाराधीन अवस्था छ । बैठकले सिंहदबारस्थित निर्माणाधीन संसद् भवन परिसरमा जेनजी आन्दोलनका सहिदको शालिक निर्माण गर्नेगरी सिंहदरबार परिसर गुरुयोजना संशोधन गर्न स्वीकृति प्रदान गरेको सरकारका प्रवक्तासमेत रहनुभएका गृहमन्त्री अर्यालले जानकारी दिए ।

