इतिहास–भूगोलमा रुचि छ भने ’पामिर पठार’ बारे थाहा पाउनु भएको होला । यसलाई संसारको छाना भनिन्छ र यस टेरेसको बीचमा कराकुल ताल नामको पुरानो र ’रहस्यमय’ ताल पनि छ । समुन्द्री सतहबाट करिब ४ हजार मिटरको उचाइमा रहेको यो ताल ३८० वर्ग किलोमिटरमा फैलिएको छ भने यसको गहिराइ २३० मिटरसम्म छ ।
चारैतिरबाट हिउँले ढाकिएको पहाड र उच्च मरुभूमि क्षेत्रले घेरिएको हुनाले यो ताल हेर्न निकै सुन्दर देखिन्छ तर यस तालमा पुग्न त्यति सजिलो छैन । यहाँसम्म पुग्न मानिसले जोखिमपूर्ण यात्रा गर्नुपर्छ । तर, जोखिमसँग नडराउने मानिसहरू यो ताल हेर्न टाढा टाढाबाट आउँछन् ।
सत्यतथ्य कसैलाई थाहा नभए पनि यो ताल करिब २५ करोड वर्षअघि पृथ्वीसँग उल्कापिण्डको टक्करका कारण बनेको बताइएको छ । सुरुमा यो तालको नाम बेलायतकी महारानी भिक्टोरियाको नामबाट राखिएको थियो तर पछि सोभियत संघले यसको नाम परिवर्तन गरी काराकुल ताल अर्थात कालो ताल राख्यो ।
यस तालको बारेमा भनिन्छ कि यसको पानीमा नुनको मात्रा धेरै हुन्छ र यस कारण यसमा कुनै पनि जीव पाइँदैन, यो पानीमा विशेष तरिकाले माछा मात्र बाँच्न सक्छ । यो माछाको नाम ‘स्टोन लोच’ हो । यो माछा बलौटे तलछट तालहरूमा आरामसँग बस्न सक्छ । तर, यस तालको वरपरको दलदलीको किनारमा हिमालय पर्वतमा बसोबास गर्ने बाज र तिब्बती तीतरहरू समय–समयमा घुम्न आउँछन् ।
डेड सी अर्थात् मृत सागरको नाम त तपाईंले सुन्नु भएको होला, जसको पानीमा यति धेरै नुन हुन्छ कि त्यहाँ कुनै प्राणी पनि बस्न सक्दैन, कराकुल ताललाई अर्को ‘डेड सी’ पनि भन्न सकिन्छ । यो पनि अचम्मको कुरा हो कि कराकुल तालमा डुङ्गा चलाउन पनि लगभग असम्भव छ र यसको कारण यसको नुनिलो पानी हो । अझ अचम्मको कुरा त के छ भने तालको छेउमा एउटा सानो गाउँ पनि छ, जसको नाम पनि कराकुल हो, तर यो गाउँमा थोरै मानिसको बसोबास छ र त्यसै कारणले गर्दा यो ‘भुतुक गाउँ’ जस्तो देखिन्छ ।
यस तालको सबैभन्दा अर्को अचम्मको कुरा यो हो कि तालको पानी दिनमा धेरै पटक आफ्नो रंग बदल्छ । कहिले नीलो, कहिले फिरोजी र कहिले हरियो देखिन्छ । साँझपख यसको पानी गाढा कालो देखिन थाल्छ । यो किन हुन्छ भन्ने बारे कुनै सटीक जानकारी उपलब्ध छैन् ।

