मत अब नारालाई होइन, नतिजालाई चाहिन्छ

Dipak Pudasaini Latest Update , News/समाचार , Politics/राजनीति , प्रदेश , प्रवास , बिचार , स्थानीय निर्वाचन , १ हप्ता अगाडि

– भोला थापा क्षेत्री

तनहुँ प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर १ फेरि एकपटक चुनावी बहसको केन्द्रमा उभिएको छ। तर यो बहस यसपटक केवल कुन दलले जित्छ, कुन उम्मेदवार अगाडि छ भन्नेमा सीमित छैन। यो बहस जनताको दैनिकी, बारम्बार दोहोरिँदै आएका अधुरा वाचा, र प्रत्येक निर्वाचनपछि जन्मिने निराशाको हिसाब–किताबसँग गाँसिएको छ। करिब १ लाख २३ हजारको हारहारीमा मतदाता रहेको यस क्षेत्रमा हरेक चुनावले नयाँ आशा बोकेर आउँछ। तर मतदान सकिएको केही समय नबित्दै उही प्रश्नहरू पुनः उठ्न थाल्छन्- सडक किन उस्तै छन्? खानेपानी किन उस्तै छ? रोजगारी किन उस्तै छ? जनजीवन किन उस्तै छ ?

देवघाट, आँबुखैरेनी, बन्दीपुर, भानु नगरपालिका र व्यास नगरपालिकाका केही वडाहरू समेटिएको तनहुँ–१ धार्मिक, पर्यटकीय र कृषिको दृष्टिले अत्यन्त सम्भावनायुक्त क्षेत्र हो। देवघाटजस्तो धार्मिक केन्द्र, बन्दीपुरजस्तो पर्यटकीय गन्तव्य र उर्वर कृषियोग्य भूभाग हुँदाहुँदै पनि यहाँको विकास अनुभूति अपेक्षाअनुसार देखिँदैन। सम्भावनाको सूची लामो छ, तर उपलब्धिको सूची छोटो।

वर्षायाम सुरु हुनासाथ आज पनि धेरै गाउँका सडक हिँड्नै नसकिने बन्छन्। खानेपानी योजनाहरू बजेट, घोषणापत्र र शिलान्यासमै सीमित देखिन्छन्, तर धारामा पानी झर्ने अवस्था नियमित छैन। भूगोल कठिन हुन सक्छ, तर लोकतन्त्रमा नेतृत्वको मूल्याङ्कन समस्या गनेर होइन, समाधान दिएर गरिन्छ।

उपनिर्वाचनको सन्देश : आशा र चेतावनी :-

२०७९/२०८० को उपनिर्वाचनमा तनहुँ–१ का मतदाताले अत्यन्त स्पष्ट सन्देश दिएका थिए। परम्परागत राजनीतिक दलहरूप्रतिको असन्तुष्टि व्यक्त गर्दै करिब ३४ हजारभन्दा बढी मत दिएर डा. स्वर्णिम वाग्लेलाई विजयी गराइएको थियो। त्यो परिणाम केवल एक उम्मेदवारको जित मात्र थिएन, त्यो पुरानो राजनीतिक अभ्यासप्रतिको अस्वीकार र नयाँ विकल्पप्रतिको आशाको उद्घोष थियो। उपनिर्वाचनले देखाएको सन्देश प्रस्ट थियो— “हामी विकल्प खोजिरहेका छौँ।”तर आज, केही समय बितिसकेपछि, त्यही मतदाताको प्रश्न अझै प्रस्ट र कठोर बनेको छ— “त्यो विकल्पले हाम्रो जीवनमा के परिवर्तन ल्यायो?” कार्यकाल छोटो हुनु, संघीय संरचनाको जटिलता, प्रशासनिक प्रक्रिया ढिलो हुनु—यी सबै तर्कहरू सार्वजनिक छन्। तर आम मतदाताका लागि यस्ता संरचनात्मक तर्कभन्दा पनि दैनिक जीवनमा देखिने परिणाम नै निर्णायक हुन्छ। सडक, खानेपानी, स्वास्थ्य सेवा र स्थानीय रोजगारीजस्ता आधारभूत विषयमा ठोस अनुभूति नहुनु नै अहिलेको असन्तोषको मूल कारण बनेको छ।

उम्मेदवारहरू : छवि, शक्ति र सीमाहरू:-

डा. स्वर्णिम वाग्ले बौद्धिक क्षमता, नीतिगत ज्ञान र राष्ट्रिय स्तरको पहिचानका कारण चिनिएका व्यक्ति हुन्। आर्थिक र नीतिगत बहसमा उनको पकड प्रशंसनीय मानिन्छ। तर तनहुँ–१ मा उनको मूल्याङ्कन अब विश्लेषणात्मक भाषण वा राष्ट्रिय बहसभन्दा पनि स्थानीय तहमा देखिने उपस्थिती र परिणामबाट भइरहेको छ। यसैबीच, नेकपा एमालेकी उम्मेद्वार भगवती न्यौपाने संगठनात्मक शक्ति, अनुशासन र लामो राजनीतिक अनुभवका कारण बलियो दावेदारका रूपमा देखिन्छिन्। पार्टी संरचना, कार्यकर्ता सञ्जाल र परिचालन क्षमतामा एमालेको पकड अझै बलियो छ। भगवती न्यौपानेको शक्ति भनेकै यही संगठन र निरन्तर राजनीतिक सक्रियता हो। तर एमालेमाथि पनि मतदाताको प्रश्न उस्तै छ-विगतमा सत्ता र प्रतिनिधित्व पाउँदा किन विकासले अपेक्षित गति लिन सकेन? त्यसैगरी, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उम्मेद्वार विद्यानाथ ढकाल शालीन, कम विवादित र वैचारिक रूपमा स्पष्ट नेताका रूपमा चिनिन्छन्। उनी निरन्तर राजनीतिक गतिविधिमा देखिने, स्थानीय मुद्दामा आवाज उठाउने र जनसम्पर्कमा रहने व्यक्ति मानिन्छन्। वैचारिक प्रतिबद्धता र सरल जीवनशैली उनको सकारात्मक पक्ष हो।तर सानो दलको सीमित संसदीय प्रभाव, सत्ता पहुँच र स्रोत व्यवस्थापनको चुनौती उनको बाटोमा स्पष्ट रूपमा देखिन्छ। नेपाली कांग्रेसका उम्मेदवार गोविन्द भट्टराई स्थानीय स्तरमा सरल, पहुँचयोग्य र सहज नेताका रूपमा परिचित छन्। उनी जनता माझ विश्वासिलो र समर्पित नेताका रूपमा चिनिन्छन्। कांग्रेसको तनहुँ–१ क्षेत्रमा अझै पनि स्थायी मताधार रहेको छ, जसले उनलाई चुनावी प्रतिस्पर्धामा बलियो बनाउँछ। तर कांग्रेसमाथि अझै एउटा पुरानै प्रश्न झुण्डिएको छ—लामो समयसम्म सत्ता र प्रतिनिधित्व हुँदाहुँदै पनि किन यस क्षेत्रको मुहार पूर्ण रूपमा परिवर्तन हुन सकेन? विगतमा भोट नदिएका मतदाता अब पश्ताएका छन्, र हाल उनीहरूको समर्थन जित्ने सम्भावना कांग्रेसका लागि बलियो देखिन्छ। गोविन्द भट्टराईलाई सयौँ घरधुरीसम्म पुगेर पानि खुवाउने, स्थानीय समस्या बुझ्ने र समाधान गर्ने नेताका रूपमा जनसाधारणले माया र भरोसा गर्छन्। उनको पहुँचयोग्यता र व्यवहारिकता चुनावी मैदानमा कांग्रेसको पक्षलाई थप मजबुत बनाउने मुख्य आधारको रूपमा देखिन्छ। मतदाताको साझा आवाज:- यी सबै उम्मेदवारका आ–आफ्ना शक्ति, कमजोरी र आधार छन्। तर अहिले तनहुँ–१ का मतदाताले दल, व्यक्ति र विचारधाराभन्दा माथि उठेर एउटै साझा प्रश्न उठाइरहेका छन्- यीमध्ये कसले चुनावपछि पनि गाउँ फर्किएर जवाफ दिन्छ? उद्घाटनका फोटो होइन, पूरा भएको आयोजना चाहिएको छ। ठूला भाषण होइन, सानो तर स्थायी समाधान चाहिएको छ। पाँच वर्षपछि मात्रै होइन, हरेक वर्ष जवाफदेही नेतृत्व चाहिएको छ।

दलभन्दा माथि उठेको प्रतिस्पर्धा:-

आज तनहुँ–१ को चुनाव दलहरूको मात्र प्रतिस्पर्धा होइन। नेकपा एमाले, नेपाली कांग्रेस, राष्ट्रिय स्वतन्त्र पार्टी, नेकपा र अन्य दलहरू सबै मैदानमा छन्। घोषणापत्र प्रशस्त छन्, प्रतिबद्धता धेरै छन्। तर मतदाताको प्राथमिकता अब एकदम स्पष्ट छ-आश्वासन होइन, परिणाम चाहियो। यही कारण स्थानीय भूगोल बुझेको, जनताको दुःख–सुखमा निरन्तर उपस्थित हुने र चुनावपछि पनि सम्पर्कमा रहने नेतृत्वको खोजी तीव्र भएको छ। यो कुनै दल विशेषको समर्थन होइन, विगतका अनुभवबाट जन्मिएको राजनीतिक चेतना हो। तनहुँ–१ अब राजनीतिक प्रयोगशाला बन्न चाहँदैन। यहाँका मतदाता अब नारामा होइन, नतिजामा विश्वास गर्न चाहन्छन्। जो नयाँ होस् वा पुरानो, जो जुनसुकै दलको होस् जनताको दैनिकी बदल्ने क्षमता नै अबको अन्तिम मापदण्ड हो। यो चुनाव चिन्हहरूको प्रतिस्पर्धा मात्र होइन, विश्वास, जवाफदेहिता र जिम्मेवारीको गम्भीर परीक्षा हो।

लेखक : भानु नगरपालिका वडा नं. ७ निवासी हुन् र हाल युएईमा कार्यरत छन्।