कोरियाका राजदुतद्वारा नेपालमा कोरियन प्रविधिको ओआरए ब्रान्डका कस्मेटिक उत्पादनको औपचारिक शुभारम्भ

Dipak Pudasaini Business/अर्थ ब्यापार , Latest Update , News/समाचार , प्रवास , ५ मिनेट अगाडि

काठमाण्डौ, १८ माघ । गैर आवासिय नेपाली सँँघ कोरियाका पुर्व अध्यक्ष बिनोद कुँवरको लगानीमा कोरियन प्रबिधिमा ओआरए ब्राण्डको कस्मेटिक उत्पादनको नेपालमा शुभारम्भ भएको छ । ओआरए कस्मेटिक ब्राण्डको आज एककार्यक्रमका बिच नेपालका लागी कोरियाका महामहिमराजदुतले शुभारम्भ गर्नुभएको हो । कोरियन प्रविधि, ३० वर्षे अन्तर्राष्ट्रिय अनुभव र नेपाली उत्पादनको त्रिवेणीका रुपमा ओआरए ब्राण्डलाई लिईएको छ ।
नेपाली सौन्दर्य उद्योग लामो समयदेखि आयात–निर्भर रहँदै आएको अवस्थामा ओआरएले कोरियन प्रविधि, अन्तर्राष्ट्रिय अनुभव र नेपालमै उत्पादनको संयोजनसहित बजारमा प्रवेश गर्नु केवल नयाँ ब्रान्ड आगमन मात्र नभई आयात प्रतिस्थापन र क्षेत्रीय बजार लक्षित उद्यमिक रणनीतिको रूपमा हेरिन थालेको छ।


ओआरए कस्मेटिक मार्फत एन के कस्मेटिक प्रालिले नेपाली कस्मेटिक्स बजारमा संरचनात्मक परिवर्तनको प्रयास गरेको छ । हाल नेपाली बजारमा उपभोग हुने अधिकांश स्किन केयर र मेकअप सामग्रीहरू कोरिया, भारत, चीन र युरोपबाट आयात हुँदै आएका छन्। ओआरएले भने कोरियन प्रविधि र फर्मुलेसन नेपालमै स्थानान्तरण गरी उत्पादन सुरु गर्ने रणनीति लिएको छ । जसले उत्पादन लागत, आपूर्ति श्रृंखला र मूल्य संरचनामा प्रत्यक्ष प्रभाव पार्ने अपेक्षा गरिएको छ।


ओआरए ब्रान्डको मुख्य शक्ति यसको उत्पादन विकास मोडलमा देखिन्छ। कम्पनीलाई ३० वर्षभन्दा बढी कोरियन कस्मेटिक्स उत्पादन तथा निर्यात अनुभव भएको वरिष्ठ विज्ञले परामर्श दिइरहेका छन , जसले विश्वप्रसिद्ध कोरियन ब्रान्ड मिसाहमा कस्मेटिक्स डेभलपर तथा अनुसन्धानकर्ताका रूपमा काम गरि अनुभव सङ्गालेका ब्यक्ती हुन । यही कारण ओआरए ब्राण्डका उत्पादनहरू अन्तर्राष्ट्रिय मापदण्ड, वैज्ञानिक परीक्षण र कोरियन स्किन–केयर दर्शनअनुसार विकसित गरिएको कम्पनीको दाबी छ।
बिनोद कुँवरको नेतृत्वमा ओआरएपरियोजनामा हालसम्म करिब १५ करोड रुपैयाँ बराबरको लगानी भइसकेको छ भने दोस्रो चरणमा थप १० करोड रुपैयाँ लगानी गर्ने योजना सार्वजनिक गरिएको छ। प्रारम्भिक चरणमै अत्याधुनिक मेसिनरी तथा उत्पादन उपकरणहरू व्यवस्थापन भइसकेको र व्यावसायिक उत्पादन छिट्टै सुरु हुने तयारीमा रहेको कम्पनीले जनाएको छ। मेसिनरी पूर्ण रूपमा सञ्चालनमा आएपछि कम्पनीले १०० भन्दा बढी प्रकारका कस्मेटिक्स, स्किन केयर तथा बडी केयर उत्पादनहरू नेपालमै उत्पादन गर्न सक्ने क्षमता राख्नेछ।


अर्थशास्त्री तथा बजार विश्लेषकहरूको दृष्टिमा ओआरएको रणनीति दुई तहमा केन्द्रित देखिन्छ। पहिलो, नेपालभित्र आयात प्रतिस्थापन, दोस्रो भारत र चीनजस्ता विशाल छिमेकी बजारलाई मध्यम अवधिमा लक्षित गर्दै मूल्य–गुणस्तर सन्तुलनमार्फत प्रतिस्पर्धा गर्ने योजना । उत्पादनको गुणस्तरको तुलनामा मूल्य किफायती राख्ने नीति अपनाइएकाले ओआरए ब्रण्डले घरेलु बजारमा छिटो प्रवेश पाउने र क्षेत्रीय बजारमा प्रतिस्पर्धी बन्ने सम्भावना देखिएको उनीहरूको विश्लेषण छ।
बिनोद कुँवर स्वयं गैरआवासीय नेपाली अभियानबाट उद्यममा फर्किएको उदाहरणका रूपमा हेरिनु पनि ओआरएपरियोजनाको अर्को आर्थिक पक्ष हो। कोरियामा आर्जन गरिएको प्रविधि, सीप, नेटवर्क र पूँजीलाई नेपालमै उत्पादनमूलक उद्योगमा लगानी गर्नु रेमिट्यान्स–निर्भर अर्थतन्त्रबाट उत्पादन–केन्द्रित मोडेलतर्फको संक्रमणको संकेतका रूपमा विश्लेषकहरूले लिएका छन्।
उद्योग सञ्चालनमा आएपछि ओआरए कस्मेटिकले स्थानीय रोजगारी सिर्जना, कच्चा पदार्थ तथा प्याकेजिङ क्षेत्रमा घरेलु उद्योगसँग सहकार्य, र वैदेशिक मुद्राको बचतमा योगदान गर्ने अपेक्षा गरिएको छ। दीर्घकालीन रूपमा निर्यात सुरु भएमा यसले व्यापार घाटा न्यूनीकरणमा समेत योगदान पुर्‍याउन सक्ने अर्थ–विश्लेषकहरूको आँकलन छ।


नेपालका लागि दक्षिण कोरियाका राजदूत महामहिम पार्क ताए–यङले ओआरए कस्मेटिक्सको शुभारम्भ समारोहमा दिएको अभिव्यक्तिलाई पनि आर्थिक दृष्टिले महत्वपूर्ण मानिएको छ। कोरियन प्रविधि र नेपाली उद्यमशीलताको संयोजनले नेपालमा नयाँ औद्योगिक सम्भावना खोल्ने उहाँको भनाइले नेपाल–कोरिया आर्थिक सहकार्यलाई निजी क्षेत्रमार्फत संस्थागत गर्ने संकेत दिएको विश्लेषण गरिएको छ।
कार्यक्रममा उपस्थित सौन्दर्य उद्योगका वरिष्ठ विज्ञहरूले ओआरएका उत्पादनहरू कोरियन प्रविधिमा आधारित, गुणस्तरीय र मूल्यका हिसाबले प्रतिस्पर्धी रहेको निष्कर्ष सार्वजनिक रूपमा व्यक्त गरेका छन्। उनीहरूका अनुसार हालको मूल्य संरचना कायम रहन सके ओआरएब्रान्डले नेपालसँगै भारत र चीनजस्ता बजारमा समेत उल्लेखनीय बजार हिस्सा लिन सक्ने सम्भावना बलियो छ।
समग्रमा हेर्दा ओआरए कस्मेटिक्स केवल नयाँ सौन्दर्य ब्रान्ड मात्र नभई बिनोद कुँवर नेतृत्वको उत्पादन–मुखी, निर्यात–उन्मुख र क्षेत्रीय बजार लक्षित आर्थिक परियोजना का रूपमा स्थापित हुने संकेत देखिएको छ।