काठमाण्डौ । बलिरहेका मोटा मैनबत्ती शरिरमा राखेर डान्स गरिरहंदा स्टे्जमै उनीसंग फोटो खिच्न आउनेको लर्को लाग्छ । बिशेषत अन्तराष्ट्रिय स्टेजमा यस्ता ६० भन्दा बढी नृत्य गरिसकेका चितवनका आशिष पुरुषलाई एउटै कामले मात्रै चिन्नु उपयुक्त नहुन सक्छ । भर्सटायल आशिष ०५५ सालमै नेपाल टेलिभिजनबाट प्रसारित अर्थ नामक सिरियलमा अभिनय गरिसकेका पुराना कलाकार पनि हुन् ।
एक दशक देखी दुबाइमा बसोबास गर्दै आइरहेका यिनले १५ वटा भन्दा बढी म्युजिक भिडियोमा अभिनय गरिसकेका छन भने २ सय भन्दा बढी कार्यक्रममा उद्घोषण गरिसकेका छन् । गीत लेखनमा अब्बल आशिषले फिचर फिल्म शुश्रीको टाइटल सङ लगायत अन्य थुप्रै गीत लेखेका छन् । अन्तराष्ट्रिय नेपाली कलाकार समाज (इनास)का आइसीसी सदस्य आशिष प्रवासी अनलाईन डटकममा बिभिन्न क्षेत्रका दिग्गज ब्यक्तित्वहरुसंग टकशो चलाउंछन् । साथै डिसी नेपालका लाईभ प्रस्तोता पनि हुन यिन ।
“सम्बन्ध छुट्यो भन्छ्यौ तिमी, एउटा सम्बन्ध मनमै रह्यो–दिलमा राज गछ्र्यौ संधै तिमी, दुरी मात्रै टाढा भयो”आशिषको शब्दमा नरेन्द्र प्यासीको स्वर तथा दीपक शर्माको संगीत रहेको यो गित अहिले निक्कै चर्चामा छ, जसमा आशिष आफैंले मोडलिङ गरेका छन् । नेपाली कला तथा गीत संगीतको क्षेत्रलाई अन्तराष्ट्रिय स्तरको बनाउन बिभिन्न मुलुकमा हाम्रा कला प्रस्तुत गर्ने बातावरण निर्माण गर्नसक्नुपर्ने बताउंदै आशिषले भने–हामी कलामा निक्कै धनी छौं । हाम्रो संगीत सुन्दर र कर्णप्रिय छ यसलाइ बिभिन्न मुलुकमा पुर्याएर एकपटक स्वाद चखाउन सक्ने हो भने हाम्रो पहिचान अन्तारष्ट्रिय स्तरमा स्थापित हुन बेर लाग्दैन् ।