काठमाडौँ, २१ पुस। महिलाहरुको क्षमता वृद्धिका लागि आयोजित ‘लेट मि इन मिसेज ब्युटी क्वीन नेपाल’ प्रतियोगितामा काठमाडौँ बूढानीलकण्ठकी सुदीक्षा आचार्य (भट्टराई) पहिलो हुनुभएको छ ।
सिजन मिडियाले आयोजना गरेको लेट मि इन मिसेज ब्युटी क्वीन नेपालमा सुदीक्षाले पहिलो स्थान हात पारेसँगै उहाँले टिभिएस स्कुटर, रु एक लाख ५० हजार बराबरको उपहार, लाभा मोबाइल सेट र चार दिनको लागि मलेसिया भ्रमणको अवसर पाउनुहुनेछ ।
त्यसैगरी, दोस्रो हुनुभएका जनकपुरकी दिपीका राईले रु एक लाख बराबरको उपहार, चार दिनको मलेसिया भ्रमण तथा लाभा मोबाइल प्राप्त गर्नुभएको छ भने तेस्रो हुने विष्णु माया पौडेलले पनि चार दिनको मलेसिया भ्रमण, रु २० हजारको उपहार र लाभाको मोबाइल प्राप्त गर्नुभएको छ ।
दश वर्षदेखि निरन्तर रुपमा विभिन्न कार्यक्रमको आयोजना गर्दै आएको यस संस्थाले यसपटक २१ वर्षदेखि ४५ वर्ष उमेर समूहका विवाहित महिलाको सौन्दर्य प्रतियोगिताको कार्यक्रम आयोजना गरेको थियो । प्रतियोगितामा देशभरीबाट २६ प्रतियोगी सहभागी भएका थिए ।
सो अवसरमा आयोजक संस्थाका प्रमुख प्रदीपराज वन्तले महिलाहरुको क्षमता विकासको लागि निरन्तर लागिरहने प्रतिबद्धता व्यक्त गर्नुभयो । यस कार्यक्रमको छनोट समितिमा राष्ट्रिय समाचार समितिका प्रमुख समाचारदाता सुर्यचन्द्र बस्नेत, सौन्दर्यकर्मी कल्पना श्रेष्ठ तथा नेपाल प्रहरी विद्यालयका प्रधानाध्यापक नवीनमान श्रेष्ठलगायत रहनुभएको थियो ।