काठमाण्डौ ।आज यस वर्षको प्रणय दिवस । आफ्नो प्रेमबारे खुलासा गर्ने दिन अनि प्रेम सम्बन्धलाई अझ प्रगाढ तुल्याउने दिन । पश्चिमा संस्कृतिलाई अनुसरण गर्दै विगत डेढ दशक यताबाट नेपालीहरूले पनि १४ फेब्रुअरीलाई प्रेम दिवसका रूपमा मनाउँदै आएका छन् त्यसैले आज धेरैले आफ्नो प्रेमलाई खुलासा गर्नेछन् । यता नेपाली चलचित्र वृत्तमा पनि केही अभिनेत्री अहिले प्रेममा छन् ।यीमध्ये केहीले खुलासा गरेका छन् भने केही अभिनेत्रीले प्रेम सम्बन्धबारे अझै लुकाएका छन् । यस वर्षको भ्यालेन्टाइनलाई केही अभिनेता अभिनेत्रीले विशेष बनाउँदै छन् ।
अभिनेत्री प्रियंका कार्कीका लागि यस वर्षको भ्यालेन्टाइन विशेष हुँदै छ । अभिनेत्री प्रियंका कार्की र अभिनेता आयुष्मान देशराज जोशी विगत डेढ वर्षदेखि प्रेममा छन् । यसपटकको भ्यालेन्टाइनमा प्रियंका र आयुष्मानले एक अर्कालाई शुभकामना आदनप्रदानसँगै विशेष उपहारसहित विशेष बनाउने सञ्चारमाध्यमलाई खुलासा गरेका छन् ।
यस्तै, अभिनेता संजोग कोइराला र अभिनेत्री वर्षा राउत पनि प्रेम सम्बन्धमा छन् । उनीहरू प्रेममा बाँधिएको चार वर्ष हुन लाग्यो । यी जोडीको प्रेमलाई दुवै परिवारका तर्फबाट सहजै स्वीकार गरिएपछि संजोग र वर्षा प्रेमिल बन्दै आएका छन् ।यी जोडीको पनि यसपटकको प्रणय दिवस पनि विशेष हुँदै छ ।
अभिनेता सलोन बस्नेत र अभिनेत्री करिश्मा श्रेष्ठ पनि विगत चार वर्षदेखि प्रेम सम्बन्धमा छन् । आफूहरूको प्रेम सम्बन्धलाई लक्ष्मण सुवेदी निर्देशित चलचित्र एउटा साथीले अझ नजिक तुल्याइदिएको हो । सलोन बस्नेत चलचित्र ‘जय भोले’को छायांकनका लागि यतिबेला झापा पुगेका छन् । यसपटकको प्रेम दिवस एकले अर्कालाई फोनबाटै शुभकामना दिएर मनाउने अभिनेता सलोनले बताए ।अभिनेता संयम पुरी र अभिनेत्री आश्मा डीसी पनि विगत चार वर्षदेखि प्रेममा छन् ।
प्रेम सम्बन्धमा रहेकी अर्की अभिनेत्री हुन, नम्रता श्रेष्ठ । अहिले उनी आफ्नो एउटा नयाँ चलचित्रको कार्यशालामा व्यस्त छिन् । तथापि उनको पनि विगतको झैं यसपटकको प्रणय दिवस प्रेमिल हुँदै छ । उनी एसियन ट्रेकिङका प्रबन्ध निर्देशक दावा स्टेभेन शेर्पासँग विगत चार वर्षदेखि प्रेम सम्बन्धमा छिन् । यी जोडीले एकले अर्कालाई हरेक कार्यमा सघाउने गर्छन् । विभिन्न कार्यक्रममा सँगै प्रस्तुत हुने नम्रता र दावाको प्रेम सम्बन्ध पनि प्रगाढ रहँदै आएको छ । साभार राजधानी दैनिक