डा. रबिन्द्र समिर
अहिले १२ कक्षा पास गरेका अधिकांश बिद्यार्थी विदेशजान कन्सल्टेन्सी धाइरहेका छन, ब्याचलर तथा मास्टर पढेका पनि बाहिर जाने प्रोसेसमा छन्, कम पढेका वा यहाँ बेरोजगार भएका व्यक्तिहरु कोरिया, मलेसिया तथा अरब गइरहेका छन्, पीआर भर्नेको संख्या त्यस्तै छ, डिपेन्डेन्ट भिसामा जानेको संख्या उत्तिकै छ, विदेश छोराछोरी भएका जेष्ठ नागरिक पनि यो भीडमा छन्, यो लहर हेर्दा आगामी ५ बर्षमा अधिकांश नेपाली बाहिर जानेछन पढेका जनशक्ति बाहिर जाँदा देशमा गुणस्तरीय जनशक्तिको अभाव हुनेछ,अधिकांश कलेज मर्ज हुने स्थितिमा छन्, यस्तै हो भने आगामी १० बर्षभित्र प्रहरी,आर्मी, सेना, उद्योगमा काम गर्ने व्यक्ति,कृषि गर्ने व्यक्ति मात्र हैन जागिर खाने जनशक्तिको पनि अभाव हुनेछ ।
त्यति मात्र हैन,
यहाँ बसेका, आफ्नै देशमा बस्ने सोंच भएका व्यक्तिको सोंचाई यस्तो छ –
यो देश बन्दैन,यहाँ लगानी गर्न सुरक्षित छैन,खेतीपाती गरेर लगानी पनि उठ्दैन,नयाँ ब्यबसाय चल्दैन,नयाँ ब्यबसाय सुरु गर्न निकै झन्झट छ, यहाँको लगानी बाहिर कसरी लैजाने होला ?
यहाँ सम्पत्ति भएका व्यक्तिको यस्तो सोंचाई छ –
पांचबर्षपछि घरहरु खाली हुनेछन्, घरजग्गा बिक्रि हुँदैनन्,कम गुणस्तरका जनशक्ति उपल्लो पदमा पुग्नेछन्,उनीहरुले देशको प्राकृतिक शक्ति बेच्नेछन्,बिदेशीको दबदबा बढ्नेछ,ब्यबस्था परिवर्तन हुनेछ ।
अधिकांश व्यक्तिको यस्तो मानसिकता पनि छ –
नेताहरुले अकुत भ्रष्ट्राचार गरेर पैसा विदेश पठाएका छन्,ठूला ब्यापारीले पैसा बाहिर लगिरहेका छन्,बैंकमा वा अन्य सेक्टरमा पैसा राख्न सुरक्षित छैन,हेर्दाहेर्दै देश टाट पल्टिन सक्छ,युवा नेता तस्करी र काण्डमा लीप्त छन्,स्टन्ट र भ्रष्ट्राचारमा नयाँ नेता लीप्त छन् ।
यस्तो आशंका पनि छ –
बिदेशमा पढ्न पाइने नयाँ कोर्स, नयाँ विश्वविद्यालय यहाँ खोल्न नदिने अनि बिद्यार्थीलाई बाहिर पठाएर कमिसन खाने ठूलो समुह छ,बिद्यार्थी भर्ना गर्ने बेला अनसन तथा हड्ताल गरेर बिद्यार्थीलाई नेपाल पढ्न हतोत्साहित गरिन्छ,तरकारी सडकमा फालेर, दुध पोखेर, बर्ड फ्लुको नाममा कुखुरा नष्ट गरेर बाहिरी बस्तु खरिद गर्ने र यहाँका किसानलाई निरुत्साहित गर्ने गरिन्छ,कमिसनको लागि इलेक्ट्रिक स्कुटर, बाइक तथा गाडीमा धेरै भन्सार लगाएर पेट्रोलियम पदार्थ खरिदलाई प्रोत्साहन गरिएको छ,राष्ट्रिय उद्योगपतिलाई निरुत्साहित गरिन्छ,देशप्रेम भएका ब्रेन लाई राजनीतिको कारण काम गर्न दिइदैन,हुक्के र झोले प्रथा तथा नजराना प्रथा संस्थागत गरिएको छ,कानुन किनबेच हुन्छ,प्रतिभालाई फसाउने षड्यन्त्र गरिन्छ,कर्मचारीतन्त्र संसारमै भ्रष्ट छ,विदेश नीति अरुको इशारामा तय हुन्छ,छिमेकी राष्ट्रलाई चिढ्याउने काम गरिन्छ,बिकासको कसैलाई मतलब छैन
।
यदि सरकारले यी कुराको आमुल सुधार नगर्ने हो भने देश फेलियर हुन धेरै समय लाग्दैन,बिदेशीको चंगुलमा फस्न धेरै दिन लाग्दैन, समय अझै छ ,हामी जस्ता नेपालमै गर्ने र नेपालमै मर्ने पंक्तिलाई सरकारले विदेश पलायनबाट रोक्नु पर्दछ ,कृषि, पशुपंक्षी पालन,पर्यटन, भ्रष्ट्राचार नियन्त्रण, सुसाशन, स्वदेशमा गुणस्तरीय पढाइ तथा उपचार, रोजगारीको ग्यारेन्टी,सामाजिक सुरक्षा, बिकासमा अर्जुनदृष्टि लगायत काम गर्ने हो भने लाखौँ नेपाली मातृभूमि फर्किनेछन, यहि लगानी गर्नेछन, देशले काँचुली फेर्नेछ, हामीले एकाध हिरो खोज्ने हैन, समग्र राजनीति र प्रणालीमा आमुल शुद्धिकरण गर्नुपर्दछ ।
देशमा गृहयुद्ध छैन,कसैले लखेटेको छैन,सर्वस्वहरण गरेको छैन तर एयरपोर्टमा बाहिर जानेको जुलुस दिनप्रतिदिन बढ्दैछ। यो गतिलाई बाध्य पारेर हैन, आकर्षण देखाएर रोक्न सक्नुपर्छ, देश बनाउन सकिन्छ,विश्वका गरिब राष्ट्र हेर्दाहेर्दै कहाँको कहाँ पुगे,हामी किन अघिं नबढ्ने । एक दशक कुर्सि र द्रव्यको खेल रोक्ने हो भने नेपाल सुन्दर र समृद्ध हुनेछ ।