काठमाण्डौ,२० पुस ।सरकारले आज प्रदेशको अस्थायी राजधानी र प्रदेश प्रमुख तोक्ने तयारी गरेको छ । त्यसका लागि राजनीतिक सहमति जुटाउन प्रधानमन्त्री शेरबहादुर देउवाले बिहान सर्वदलीय बैठक बोलाउनु भएको छ । प्रधानमन्त्रीनिवास बालुवाटारमा बिहान ९ बजे बोलाइएको बैठकमा राष्ट्रिय पार्टीका अध्यक्षहरूलाई दुई अन्य नेतासहित उपस्थित हुन आग्रह गरिएको छ ।
सर्वदलीय बैठकमा मुख्य गरी तीन विषयमा छलफल हुनेछ । प्रधानमन्त्रीका स्वकीय सचिव केशव जोशीले प्रदेशको अस्थायी राजधानी, प्रदेश प्रमुख र राष्ट्रिय सभा निर्वाचनको मिति तोक्ने विषयमा दलीय सहमति खोज्न सर्वदलीय बैठक बोलाइएको बताउनु भयो ।
बैठकमा प्रधानमन्त्रीले राष्ट्रिय सभा निर्वाचनको मितिका विषयमा पनि नेताहरूसँग सुझाब माग्नेछन् । निर्वाचन आयोगले २५ माघभन्दा अघि निर्वाचन गर्न सम्भव नरहेको मंगलबार मात्रै विज्ञप्तिमार्फत जानकारी गराइसकेको छ । दलीय सहमतिमा माघभित्रै निर्वाचनको मिति तोक्ने तयारीमा सरकारले गरेको जोशीले बताउनु भयो ।

