काठमाडौं । गएरातिदेखि काठमाडौं उपत्यकामा भारी वर्षा भइरहेकाे छ । निरन्तरकाे वर्षाका कारण नदी र खोलाहरुमा बाढी आएको छ । बाढीको सतह बढ्दो क्रममा रहेकाले नदी किनारका बासिन्दालाई सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले सूचित गरेको छ ।
वर्षाका कारण विष्णुमती, धोबीखोला, मनोहरा लगायतमा नदीमा जलसतह उच्च तहमा पुगेकाे छ ।
जल तथा मौसम विज्ञान विभागका अनुसार काठमाडौं उपत्यकाका गाेकर्ण, जाेरपाटी बूढानीलकण्ठ, सुन्दरीजल, आलापाेट,साँखु, नगरकाेट लगायत आसपासका सबै ठाउँमा भारी वर्षा भएको छ ।
विभागका अनुसार हाल देशभर सामान्यदेखि पूर्ण बदली रही बागमती, कोशी र गण्डकी प्रदेशका केही र बाँकी प्रदेशका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।
वर्षाका कारण नदीको जल सतह बढ्ने, बाढी पहिरो, भू क्षय हुन सक्ने भएकाले जनस्वास्थ्य, कृषि, दैनिक जनजीवन, सडक तथा हवाई यातायातमा हुनसक्ने असुविधा, जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ।

