कतारको होटल तथा आतिथ्य क्षेत्रमा नेपाली जनशक्तिको उपस्थिति पछिल्ला वर्षमा निरन्तर बढिरहेको छ। सामान्य कामदारदेखि विभागीय प्रमुख र व्यवस्थापन तहसम्म नेपालीहरू पुगिरहेका छन । यही क्रममा कतारको दोहामा रहेको फोर स्टार बेस्ट वेस्ट्रन प्लस होटल दोहा पनि नेपाली समुदायसँग निकट सम्बन्ध बनाएको होटलका रूपमा स्थापित भएको छ।
होटलमा कार्यरत नेपाली जनशक्ति, नेपाली खानाका परिकार र सांगीतिक प्रस्तुतिसहित सञ्चालनमा रहेको एसियाना दोहोरी गजल रेस्ट्रो बार तथा नेपाली समुदायसँग जोडिएका विभिन्न सांस्कृतिक गतिविधिले बेस्ट वेस्ट्रन प्लस होटल दोहालाई नेपाली समुदायसँग थप नजिक बनाएको छ।
नेपालका चर्चित सांगीतिक तथा मनोरञ्जन कार्यक्रमसँग सहकार्य, नेपाली कलाकार तथा पाहुनाको आतिथ्य, नेपाली समुदायका कार्यक्रमलाई दिइएको सहयोग र नेपाली कर्मचारीको उल्लेखनीय उपस्थितिले होटल र नेपाली समुदायबीचको सम्बन्धलाई थप आत्मीय बनाएको छ।
इजिप्टका नागरिक ह्यानी घनेम लामो समयदेखि होटल तथा आतिथ्य क्षेत्रमा सक्रिय ब्यक्ती हुन । नेपाली समुदायसँगको निरन्तर सम्पर्क र मित्रताका कारण उनले नेपाललाई नेपालीहरूमार्फत नजिकबाट बुझ्ने अवसर पाएका छन । उनी नेपाली संस्कृति, खानपान, संगीत र नेपालीहरूले एकअर्काप्रति देखाउने सम्मानबाट विशेष प्रभावित छन ।
कतारको आतिथ्य क्षेत्रमा नेपालीको योगदान, नेतृत्व तहमा पुग्ने अवसर, नेपाली युवाका लागि आवश्यक सीप, नेपालको पर्यटन सम्भावना तथा नेपाल–कतारबीच पर्यटन र आतिथ्य क्षेत्रमा सहकार्यका सम्भावनाबारे बेस्ट वेस्ट्रन प्लस होटल दोहाका महाप्रबन्धक ह्यानी घनेमसँग कतारमा गरेको विशेष कुराकानीका केही अंश :

१. नेपाल र विश्वमा रहेका नेपाली लाई बेस्ट वेस्ट्रन प्लस होटल दोहाको तर्फबाट के भन्न चाहनुहुन्छ ?
सबैभन्दा पहिले, नेपालमा भएको दुःखद प्राकृतिक विपत्तिबाट प्रभावित सबैप्रति म गहिरो समवेदना व्यक्त गर्न चाहन्छु। ज्यान गुमाएका परिवार, घाइते भएका तथा घर, रोजगारी र जीविकोपार्जनमा क्षति पुगेका सबैप्रति मेरो मनदेखि नै सहानुभूति छ।
कतारमा रहेको नेपाली समुदायसँग मेरो लामो र आत्मीय सम्बन्ध छ। त्यसैले नेपालमा भएको यस्तो विपत्तिलाई म टाढाको घटनाका रूपमा हेर्न सक्दिनँ। मेरो मन र प्रार्थना नेपालका जनतासँग छ।
कठिन परिस्थितिमा पनि नेपालीहरूले देखाउने एकता, धैर्य र एकअर्काप्रतिको सहयोगभाव प्रशंसनीय छ। कतारमा रहेका हामी नेपाली साथीहरूसँगै यो कठिन समयमा नेपालका जनतासँग उभिएका छौँ।
२. कतारको होटल तथा आतिथ्य क्षेत्रमा नेपाली जनशक्तिको योगदानलाई तपाईं कसरी मूल्याङ्कन गर्नुहुन्छ ?
कतारको आतिथ्य क्षेत्रमा नेपालीहरूको योगदान पछिल्ला वर्षमा निकै महत्वपूर्ण बन्दै गएको छ । यो केवल नेपालीको संख्या बढेको विषय होइन, उनीहरूले सम्हालिरहेका जिम्मेवारीको दायरा पनि विस्तार हुँदै गएको विषय हो।
पछिल्ला पाँच वर्षलाई हेर्दा नेपालीहरू अतिथि सेवा, खाद्य तथा पेय सेवा, भान्सा, सरसफाइ, प्राविधिक सेवा, सुरक्षा, मानव संसाधन, खरिद व्यवस्थापनलगायत होटलका विभिन्न विभागमा कार्यरत छन ।
आतिथ्य क्षेत्र भनेको मानिसलाई रोजगारी दिने मात्र होइन, उनीहरूलाई सीप सिकाउने र करियर निर्माण गर्ने क्षेत्र पनि हो। यस अर्थमा नेपालीहरू कतारको आतिथ्य क्षेत्रका महत्वपूर्ण दक्ष जनशक्ति हुन ।
३. कतारको आतिथ्य क्षेत्रमा नेपालीको आकर्षण बढ्नुका मुख्य कारण के हुन ?
यसका धेरै कारण छन । कतिपय प्रारम्भिक तथा सञ्चालन तहका काममा रोजगारीका अवसर आकर्षक हुन सक्छन । तर पारिश्रमिक र अवसर राष्ट्रियताका आधारमा होइन, पद, सीप, अनुभव र कार्यसम्पादनका आधारमा निर्धारण हुनुपर्छ।
नेपाली युवामा सेवासम्बन्धी आधारभूत सीप र नयाँ कुरा सिक्ने इच्छा देखिन्छ। उनीहरू तालिम लिन, जिम्मेवारी बढाउन र आफ्नो क्षमता विकास गर्न तयार हुनुपर्छ।
मेरो विचारमा मुख्य कुरा कतारमा कति नेपाली आए भन्ने मात्र होइन, उनीहरू यहाँ आएपछि आफ्नो करियरमा कति अगाडि बढे भन्ने हो। रोजगारीलाई तत्कालको आम्दानीका रूपमा मात्र नभई दीर्घकालीन करियर निर्माणको अवसरका रूपमा हेर्नुपर्छ।
४. नेपालीहरू अहिले हस्पिटालिटिमा नेतृत्व तहमा समेत पुगिरहेका छन नि ?
अवश्य । यो निकै उत्साहजनक परिवर्तन हो नेपाल र नेपालीको लागि । नेपालीहरू अहिले वरिष्ठ व्यवस्थापन तहसम्म पुगिरहेका छन र कतिपय नेपाली महाप्रबन्धकसमेत बनेका छन ।
बेस्ट वेस्ट्रन प्लस होटल दोहामै सुरक्षा प्रमुख, मानव संसोधन प्रमुख र खरिद प्रमुखजस्ता महत्वपूर्ण जिम्मेवारी नेपालीहरूले नै सम्हालिरहेका छन ।
यी पद केवल नामका जिम्मेवारी होइनन्। मानिस व्यवस्थापन, सुरक्षा, नियमपालना, खरिद, खर्च नियन्त्रण र महत्वपूर्ण निर्णय लिन सक्ने क्षमता आवश्यक हुन्छ।
त्यसैले नेपालीको योगदानलाई होटलमा कति जना कार्यरत छन भन्ने संख्याबाट मात्र हेर्नु हुँदैन। उनीहरू कुन जिम्मेवारीसम्म पुगिरहेका छन् भन्ने पनि महत्वपूर्ण हुन्छ।
५. अझै धेरै नेपालीहरुलाई वरिष्ठ व्यवस्थापन र महाप्रबन्धक तहमा पुग्न के गर्नुपर्छ ?
यसमा व्यक्तिको मेहनतसँगै शिक्षा र तालिमको भूमिका पनि महत्वपूर्ण हुन्छ। हामीमध्ये धेरैजना आफूले गरिरहेको काममा राम्रो भएपछि त्यही काममा सहज महसुस गर्छौँ। तर अहिलेको जिम्मेवारी राम्रोसँग पूरा गर्नु मात्र अर्को जिम्मेवारीका लागि पर्याप्त हुँदैन। आफूले काम गरिरहेको विभागभन्दा बाहिरका विषय पनि सिक्नुपर्छ।
सञ्चार क्षमता, वित्तीय व्यवस्थापन, बजेट, आम्दानी व्यवस्थापन, बिक्री, प्रविधि र नेतृत्वसम्बन्धी ज्ञान आवश्यक हुन्छ। महाप्रबन्धक बन्ने हो भने होटलको एउटा विभाग मात्र होइन, समग्र होटल कसरी सञ्चालन हुन्छ भन्ने बुझ्नुपर्छ।
नेपालले पनि होटल व्यवस्थापन तथा आतिथ्य शिक्षालाई अझ विस्तार गर्नुपर्छ। विशेषीकृत शिक्षालय, विश्वविद्यालय र व्यावसायिक तालिम संस्थालाई अन्तर्राष्ट्रियस्तरको बनाउन सके नेपाली युवाले स्वदेशमै राम्रो आधार तयार गर्न सक्छन्।
नेपालसँग पर्यटनको ठूलो सम्भावना छ । त्यस सम्भावनालाई अघि बढाउन दक्ष जनशक्ति आवश्यक हुन्छ।

६. बेस्ट वेस्ट्रन प्लस होटल दोहा र नेपाली समुदायबीच यति आत्मीय सम्बन्ध कसरी विकास भयो ?
यो सम्बन्ध धेरै वर्षको सहकार्यबाट स्वाभाविक रूपमा विकसित भएको हो । यो होटल र ग्राहकबीचको सामान्य व्यावसायिक सम्बन्धमा मात्र सीमित छैन।
हामीले नेपाली समुदायसँग सम्बन्धित विभिन्न महत्वपूर्ण कार्यक्रमलाई सहयोग गरेका छौँ। नेपाल आइडल ग्रान्ड फिनाले २०१७ र द भ्वाइस अफ नेपाल ग्रान्ड फिनाले २०१७,वुगी वुगी जस्ता कार्यक्रमसँग जोडिन पाउनु हाम्रो लागि विशेष अनुभव थियो। त्यस्ता कार्यक्रमका सहभागी तथा निर्णायकलाई होटलमा स्वागत गर्ने अवसर पनि पायौँ।
कतारमा रहेका नेपालीका लागि यस्ता कार्यक्रम केवल मनोरञ्जनमात्रै होइनन । यी कार्यक्रमले उनीहरूलाई आफ्नो देश, भाषा, संगीत र संस्कृतिसँग जोड्छन्। त्यसैले नेपाली समुदायसँग जोडिन पाउनु हामी आफैँका लागि पनि गर्वको विषय हो।
७. तपाईंको होटलमा सञ्चालन भइरहेको एसियाना दोहोरी गजल रेस्टुरेन्ट नेपाली समुदायका लागि विशेष आकर्षण बनेको छ र नेपालीकै लगानी रहेको टनेल क्लब दोहामा चर्चामा रहेको छ, यसको विशेषता के हो ?
एसियाना हाम्रो होटल र नेपाली समुदायबीचको सम्बन्धको महत्वपूर्ण हिस्सा हो। यसको सबैभन्दा ठूलो विशेषता मौलिकता हो।
त्यहाँ नेपाली जनशक्ति, नेपाली खानाका परिकार र नेपाली सांगीतिक वातावरण छ। यसले कतारमा रहेका नेपालीलाई आफ्नो घर र देशको अनुभूति गराउँछ।
कहिलेकाहीँ एउटा परिचित गीत, आफ्नै देशको खाना वा आफ्नै भाषामा भएको कुराकानीले हजारौँ किलोमिटरको दूरीलाई पनि छोटो बनाइदिन्छ।
त्यस अर्थमा म एसियानालाई दोहामा रहेको नेपालको एउटा सानो झल्कोका रूपमा हेर्छु । टनेल क्लब दोहाले नेपाली र विश्वका सबैलाई आकर्षण बढाएको छ ।
८. नेपाली समुदायसँग तपाईंको सम्बन्ध व्यावसायिकभन्दा बढी आत्मीय देखिन्छ । यो सम्बन्ध कसरी व्यक्तिगत मित्रतामा परिणत भयो ?
यो सम्बन्ध पनि स्वाभाविक रूपमा विकसित भयो। नेपाली समुदायका धेरै मानिससँग मेरो राम्रो मित्रता बनेको छ। गैरआवासीय नेपाली संघ र समुदायका विभिन्न गतिविधिसँग जोडिँदा पनि धेरै मानिससँग नजिक हुने अवसर पाएँ।
उनीहरूसँगको मित्रताबाट मैले नेपालका परम्परा, खानपान, संगीत, संस्कृति र सामाजिक सम्बन्धबारे धेरै कुरा सिकेँ।
सुरुमा व्यावसायिक रूपमा बनेका धेरै सम्बन्ध पछि वास्तविक मित्रतामा परिणत भए। त्यसैले नेपाली समुदायप्रतिको मेरो सम्मान केवल होटल व्यवसायसँग सम्बन्धित विषय होइन। यो व्यक्तिगत सम्बन्ध पनि हो।
९. विभिन्न देशका मानिससँग काम गर्नुभएको तपाईंलाई नेपाली संस्कृतिको कुन पक्षले विशेष रूपमा छोएको छ ?
म यसलाई रमाइलो ढंगले ‘नमस्ते’ भन्छु।
नेपालीहरूले अर्को व्यक्तिलाई गर्ने सम्मान मलाई विशेष लाग्छ। ‘नमस्ते’ केवल अभिवादन गर्ने शब्द होइन। यसमा अर्को व्यक्तिको सम्मान र मर्यादालाई स्वीकार गर्ने भावना हुन्छ।
मैले कार्यस्थलमा होस् वा व्यक्तिगत सम्बन्धमा, नेपालीहरूले मानिसलाई सम्मानपूर्वक व्यवहार गरेको देखेको छु। पद वा हैसियत जे भए पनि अर्को व्यक्तिलाई मानिसका रूपमा सम्मान गर्नु निकै महत्वपूर्ण कुरा हो।
त्यही ‘नमस्ते’ संस्कारले मलाई व्यक्तिगत रूपमा नेपालीप्रती निकै छोएको छ।
१०. नेपालीहरू
सँगको मित्रताबाट तपाईंले नेपाल र नेपाली संस्कृतिबारे के बुझ्नुभएको छ ?
नेपाल बुझ्न नेपाल नै पुग्नुपर्छ भन्ने छैन। नेपाली मानिससँग नजिक भएर पनि नेपाललाई बुझ्न सकिन्छ।
नेपाली साथीहरूबाट मैले यहाँका परम्परा, संगीत, चाडपर्व, खानपान र सामुदायिक सम्बन्धबारे धेरै कुरा सिकेको छु। विदेशमा रहेका नेपालीहरू आफ्नो देश र संस्कृतिसँग निकै गहिरो रूपमा जोडिएका हुन्छन्।
उनीहरू भेटघाट गर्छन्, चाडपर्व मनाउँछन्, संगीत सुन्छन र आफ्ना परम्परालाई निरन्तरता दिन्छन । यसले आफ्नो देशप्रतिको उनीहरूको माया देखाउँछ।
खानाको कुरा गर्दा मलाई नेपाली खाना र सुकुटी धेरै मन पर्छ। मेरा नेपाली साथीहरूलाई यो कुरा राम्ररी थाहा छ।
तर नेपालप्रतिको मेरो बुझाइ खानामा मात्र सीमित छैन। परिवार, मित्रता, समुदाय र आपसी सम्मान नेपाली समाजका महत्वपूर्ण पक्ष हुन ।
मैले नेपाल कुनै पुस्तिका पढेर चिनेको होइन, नेपाली मानिस र मनहरूसँगको सम्बन्धबाट चिनेको हुँ।
११. अन्तर्राष्ट्रिय स्तरमा आतिथ्य क्षेत्रमा करियर बनाउन चाहने नेपाली युवालाई तपाईंको सुझाव के छ ?
पहिलो जागिरलाई अन्तिम गन्तव्य नसम्झनुहोस्। पहिलो जागिर तपाईंको करियरको सुरुवाती ढोका हो।
जिज्ञासु बन्नुहोस्। प्रश्न सोध्नुहोस्। आफूले काम गर्ने विभागबाहेक अरू विभागका काम पनि बुझ्नुहोस्। अंग्रेजी तथा अन्य सञ्चार सीप सुधार्नुहोस्। प्रविधिको ज्ञान लिनुहोस्।
सबैभन्दा महत्वपूर्ण कुरा होटलले कसरी आम्दानी गर्छ भन्ने बुझ्नुहोस्। उदाहरणका लागि, अतिथि सेवामा काम गर्नेले सरसफाइ र आम्दानी व्यवस्थापनबारे पनि बुझ्नुपर्छ। खाद्य तथा पेय सेवामा काम गर्नेले खर्च र वित्तीय व्यवस्थापन बुझ्नुपर्छ। सञ्चालनमा काम गर्नेले बिक्री र प्रचारबारे जान्नुपर्छ।
ठूलो जिम्मेवारी पर्खेर नबस्नुहोस्। पहिले आफूलाई त्यस जिम्मेवारीका लागि तयार पार्नुहोस्। अवसर आउँदा तयार व्यक्ति नै अगाडि बढ्न सक्छ।
१२. अन्तर्राष्ट्रिय होटल व्यवसायीका रूपमा नेपालको पर्यटन सम्भावनालाई तपाईं कसरी हेर्नुहुन्छ ?
नेपालमा असाधारण पर्यटन सम्भावना छ। हिमाल, सगरमाथा, पदयात्रा र प्राकृतिक सौन्दर्यका कारण नेपालले विश्वमा आफ्नो छुट्टै पहिचान बनाइसकेको छ।
तर नेपाल हिमाल मात्र होइन। नेपालको संस्कृति, सम्पदा, खानपान, अध्यात्म, साहसिक पर्यटन, वन्यजन्तु र नेपाली जनताको आतिथ्य पनि ठूलो आकर्षण हो।
अब नेपालले यी विविध पक्षलाई अझ व्यवस्थित रूपमा विश्वसामु प्रस्तुत गर्नुपर्छ। पूर्वाधार सुधार, पर्यटन सेवाको गुणस्तर, दक्ष जनशक्ति र आतिथ्यसम्बन्धी शिक्षामा लगानी आवश्यक छ।
पर्यटन विकास र दक्ष जनशक्ति विकासलाई अलग–अलग विषयका रूपमा हेर्नु हुँदैन । राम्रो पर्यटनका लागि दक्ष मानिस आवश्यक हुन्छ।
१३. नेपाल र कतारबीच पर्यटन तथा आतिथ्य क्षेत्रमा अझ बलियो सहकार्यको सम्भावना के देख्नुहुन्छ ?
निश्चित रूपमा धेरै सम्भावना छ। कतार अन्तर्राष्ट्रिय हवाई सम्पर्क र पर्यटनको महत्वपूर्ण केन्द्रका रूपमा विकसित भइरहेको छ। अर्कोतर्फ नेपालसँग विश्वलाई आकर्षित गर्न सक्ने विशिष्ट प्राकृतिक र सांस्कृतिक सम्पदा छ। कतारमा ठूलो नेपाली समुदाय पनि छ।
त्यसैले सांस्कृतिक आदानप्रदान, पर्यटन प्रवर्द्धन, आतिथ्यसम्बन्धी तालिम, दक्ष जनशक्ति विकास र संस्थागत सहकार्यका क्षेत्रमा धेरै सम्भावना छन ।
कतारमा रहेका नेपालीलाई मात्र लक्षित गर्ने होइन, कतारमा बस्ने अन्य समुदाय र अन्तर्राष्ट्रिय आगन्तुकलाई पनि नेपालबारे जानकारी गराउन सकिन्छ। धेरै मानिसले सगरमाथालाई चिन्छन्, तर नेपालको सम्पूर्ण पर्यटन विविधताबारे जान्दैनन । त्यो कतार र विश्व बजारमा प्रचार प्रसार र जानकारी गराउनुपर्छ ।
नेपालका बारेमा जानकारी र चासो बढाउन सकियो भने त्यसले दुवै देशबीचको पर्यटन तथा आतिथ्य सम्बन्धलाई अझ बलियो बनाउन सक्छ।
१४. अन्त्यमा कतारमा रहेका नेपाली समुदाय र नेपालका जनतालाई तपाईंको सन्देश के छ ?
मेरो पहिलो सन्देश ऐक्यबद्धताको हो। कठिन परिस्थितिबाट गुज्रिरहेका नेपाली परिवार र समग्र नेपालप्रति मेरो मनदेखि नै सहानुभूति र प्रार्थना छ।
मैले नेपालीलाई सहकर्मी, आतिथ्य क्षेत्रका व्यावसायिक व्यक्ति, समुदायका अगुवा र साथीका रूपमा चिनेको छु। उनीहरूबाट मैले सम्मान, मित्रता र आत्मीयता पाएको छु।
त्यसैले म फेरि त्यही ‘नमस्ते नियम’ सम्झाउन चाहन्छु,एकअर्कालाई चिनौँ, सम्मान गरौँ र हरेक व्यक्तिको मर्यादालाई महत्व दिऔँ।
नेपाली समुदायले मलाई दिएको मित्रता र सम्मानको म सधैँ कदर गर्नेछु। आगामी दिनमा पनि नेपाली समुदायसँग सांस्कृतिक तथा व्यावसायिक गतिविधिमा जोडिन र उनीहरूको उपलब्धि सँगै मनाउन चाहन्छु।
र अब नेपालका बारेमा हुने हाम्रो अर्को कुराकानी दुःख र विपत्तिका विषयमा होइन, नेपालको सुन्दरता, पर्यटन, संस्कृति र प्रतिभाशाली नेपालीका सफलताका बारेमा गर्न चाहन्छु ।
नेपालप्रति मेरो शुभेच्छा छ। नेपाली समुदायप्रति मेरो आत्मीयता छ र कतारदेखि नेपालसम्मको यो सम्बन्ध अझ बलियो बन्दै जाओस् भन्ने मेरो चाहना रहेको छ।

