सुनसरी घटनापछि प्रधानमन्त्रीको अपिल : सामाजिक सद्भाव जोगाऔं

Bhim Thapa Banner Headline with Image , ३ हप्ता अगाडि

काठमाडौँ, १४ साउन । प्रधानमन्त्री बालेन शाहले सामाजिक सञ्जाल वा अन्य माध्यमबाट असत्य, अपुष्ट सूचना, अफवाह तथा समुदायबीच वैमनस्यता बढाउने अभिव्यक्तिको प्रचारप्रसार नगर्न सबैलाई आग्रह गरेका छन्।

बिहीबार राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री शाहले संवेदनशील परिस्थितिमा सरकारी निकायबाट जारी हुने आधिकारिक तथ्य र सूचनामा मात्र विश्वास गर्न नागरिकलाई अपिल गरे।

सुनसरी घटनापछि पूर्वी तराई–मधेशका जिल्लामा देखिएको तनावपूर्ण अवस्थालाई लक्षित गर्दै उनले शान्ति, सामाजिक सद्भाव र राष्ट्रिय एकता कायम राख्न संयमता अपनाउन आग्रह गरे।

प्रधानमन्त्री शाहले शान्ति–सुरक्षा भंग गर्ने, अराजकता फैलाउने तथा सामाजिक सद्भाव, सहिष्णुता र भाइचारा खलबल्याउने कुनै पनि गतिविधिप्रति सरकार पूर्ण रूपमा सचेत रहेको भन्दै यस्ता कार्यमा संलग्नमाथि कडा कारबाही गरिने चेतावनी दिए।

उनले प्रत्येक नागरिकको जीउधनको सुरक्षा, सामाजिक सद्भावको संरक्षण र देशमा शान्ति कायम राख्नु राज्यको सर्वोच्च दायित्व भएको उल्लेख गर्दै नागरिकको सुरक्षाका लागि सरकारी संयन्त्रहरू निरन्तर परिचालन हुने बताए।

सम्बोधनका क्रममा प्रधानमन्त्री शाहले नेपालको संविधानले प्रत्येक नागरिकलाई आफ्नो धर्म, संस्कृति र परम्परा पालन गर्ने मौलिक हक सुनिश्चित गरेको उल्लेख गर्दै त्यसको संरक्षण गर्न सरकार प्रतिबद्ध रहेको बताए।

उनले धर्मले समाजमा प्रेम, करुणा, दया र शान्तिको सन्देश दिने उल्लेख गर्दै कुनै पनि धर्म वा संस्कृतिले हिंसा, घृणा र विभाजनलाई स्वीकार नगर्ने धारणा व्यक्त गरे।

प्रधानमन्त्री शाहले देशको कुनै एक स्थानमा भएको दुःखद घटनाको आधारमा कुनै सम्पूर्ण समुदायलाई दोषी ठहर गर्नु वा त्यसको बहानामा अन्य स्थानमा प्रतिशोधको भावना फैलाउनु कुनै पनि दृष्टिकोणबाट न्यायोचित नहुने बताएका छन्।