काठमाडौं, जेठ १० । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा प्रतिनिधिसभा सदस्य हर्कराज राईले संसद्मा बोल्ने अवसर प्राप्त गर्नसमेत आन्दोलन गर्नुपर्ने अवस्था आएको भन्दै सभामुखप्रति असन्तुष्टि व्यक्त गरेका छन्।
प्रतिनिधिसभाको बुधबार बसेको बैठकमा सभामुख डोलप्रसाद अर्याल ले विपक्षी दलका प्रतिनिधिहरूलाई बोल्ने समय दिए पनि आफूलाई बोल्न नदिएको भन्दै राईले नाराबाजी गर्दै सदनको वेल घेराउ गरेका थिए।
सभामुखको आग्रहपछि उनी नाराबाजी रोक्दै आफ्नै सिटमा फर्किएका थिए। त्यसपछि सभामुखले उनलाई बोल्न समय उपलब्ध गराएका थिए। बोल्ने क्रममा राईले व्यंग्यात्मक रूपमा भने, “बोल्नकै लागि पनि आन्दोलन गर्नुपर्ने रहेछ।”
उनले संसद् सञ्चालन विधिसम्मत र संविधानसम्मत ढंगले हुनुपर्नेमा जोड दिँदै सभामुखको ध्यानाकर्षण गराए। राईले सांसदहरू तथा संसद् नेतृत्वले संविधानका धारा–उपधाराको गम्भीर अध्ययन गरी सोहीअनुसार आचरण सुधार्नुपर्ने आवश्यकता औंल्याए।
“हामीले पहिले संविधानका धारा–उपधाराहरू अध्ययन गर्नुपर्छ। त्यसअनुसार आफ्नो आचरण सुधार्न जरुरी छ,” उनले भने।
राईको टिप्पणी संसद् सञ्चालन प्रक्रिया, बोल्ने अवसरको व्यवस्थापन तथा संसदीय मर्यादाको विषयलाई लिएर आएको असन्तुष्टिको रूपमा हेरिएको छ।

