पोखरा रङ्गशालाको डिपिआर बुझाउने म्याद तोकियो

arjun Sports/खेलकुद , ७ वर्ष अगाडि

काठमाण्डौ,४ असार । पोखरा रङ्गशालाको डिपिआर बुझाउनका लागि युवा तथा खेलकुद मन्त्रालयले असार १५ गतेसम्मको म्याद दिएको छ ।
नेपाल सरकारको लगानीमा पोखरामा बन्न लागेको अन्तर्रा्ष्ट्रियस्तरको पोखरा रङ्गशाला निर्माणका लागि तयार पारिएको डिपिआरलाई परिमार्जनसहित असार १५ गतेसम्म बुझाउन निर्देशन दिएको हो । एनएन इन्जिनियरिङ कन्सल्टेन्सीले तयार पारेको डिपीआरलाई अखिल नेपाल फुटबल सङ्घ (एन्फा) र मन्त्रालयको इन्जिनियरिङ युनिटसँग समन्वय गरी प्रतिवेदन बुझाउन मन्त्रालयले निर्देशन दिएको हो ।
करिब रु ८५ करोडको लगानीमा बन्न लागेको परियोजना आर्थिक वर्ष सुरु हुनासाथ टेन्डर प्रक्रियामा लगिने युवा तथा खेलकुद मन्त्रालयका सचिव महेशप्रसाद दाहालले आज आयोजित एक कार्यक्रममा बताए । उनले सन् २०१८ को जनवरीसम्म निर्माण कार्य सम्पन्न गर्नेगरी योजना ल्याउन निर्देशनसमेत दिए । करिब ४०० रोपनी क्षेत्रफलमा बन्न लागेको उक्त अन्तर्रा्ष्ट्रियस्तरको पोखरा रङ्गशालाको अनुमानित क्षमता २५ हजार भन्दामाथि रहने योजनामा उल्लेख छ ।