नेपाली महिला क्रिकेट टिम पहिलो पटक विश्वकपमा छनोट

Bhim Thapa Banner Headline with Image , Latest Update , MainNews/प्रमुख समाचार , Sports/खेलकुद , ३ हप्ता अगाडि

काठमाडाैं ।नेपाल पहिलो पटक यू–१९ महिला टी–२० विश्वकपमा छनोट भएको छ ।

बुधबार भएको छनोट खेलमा घरेलु टिम यूएईलाई ८ विकेटले हराउँदै नेपालले आगामी वर्ष मलेसियामा हुने आईसीसी यु-१९ टी-२० महिला विश्वकप खेल्ने भएको हो ।

यूएईले दिएको ८४ रनको लक्ष्य नेपालले १४ ओभरमा २ विकेटको क्षतिमा पूरा गर्‍यो । नेपालका लागि ओपनर सना प्रविनले अविजित रहँदै सर्वाधिक रन ३५ बनाइन् ।

त्यस्तै कप्तान पूजा महतोले १८ बलमा २१ रनको योगदान दिइन् । साबित्री धामीले १२ रन बनाइन् ।टस जितेर पहिले ब्याटिङ गरेको यूएईले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर ८३ रन बनाएको थियो ।

यूएईका लागि कप्तान समाइरा धर्निधरकाले सर्वाधिक ३१ रन बनाइन् । त्यस्तै रिनिथा रञ्जितले २० रन बनाइन् भने ‌‌ओपनर लावन्या केनी र इन्दुजा नन्दाकुमारले समान १० रन बनाए ।नेपालका लागि कृष्मा गुरुङले ४ ओभरमा १७ रन दिएर ४ विकेट लिइन् ।

उनले कप्तान धर्निधरका सहित ३ खेलाडीलाई एकै ओभरमा आउट गराएकी थिइन् । नेपालका रिया शर्मा र सीमा केसीले २-२ विकेट लिँदा रचना कुमारी चौधरीले १ विकेट लिइन् ।

 नेपाल सम्मिलित समूह ‘डी’मा अस्ट्रेलिया, बंगलादेश र स्कटल्यान्ड छन् । नेपालले आफ्नो पहिलो खेलमा जनवरी १८ मा बंगलादेश, २० मा स्कटल्यान्ड र २२ जनवरीमा अस्ट्रेलियासँग खेल्नेछ ।