राखेपले यसै महिना तीन प्रतियोगिता गर्ने

arjun Sports/खेलकुद , ७ वर्ष अगाडि

काठमाडौं, १४ असार । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले यसै महिना तीन प्रतियोगिता आयोजना गर्ने भएको छ । पहिला असार २२ देखि २४ गतेसम्म नवौं राष्ट्रिय विद्यालयस्तरीय राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता हुनेछ । राष्ट्रपति रनिङ सिल्डमा भलिबल, एथलेटिक्स, कबड्डी, तेक्वान्दो, कराते, उसु, फुटबल र क्रिकेट गरी ८ खेल राखिएको छ । सबै खेलमा पाँच क्षेत्रको सहभागिता रहने छ र प्रत्येक क्षेत्रबाट १ सय ३० का दरले खेलाडी सहभागी हुने राखेपअन्तर्गत खेलकुद प्रतियोगिता तथा योजनाका विभागका प्रमुख समेत रहेका राष्ट्रपति रनिङ सिल्ड सञ्चालन तथा व्यवस्थापन समितिका सचिव मीनकुमार शर्माले बताए ।
एथलेटिक्स र फुटबल त्रिपुरेश्वरस्थित दशरथ रंगशाला, भलिबल त्रिपुरेश्वरस्थित राखेपको कभर्डहल, कबड्डी सातदोबाटो, तेक्वान्दो कोटेश्वर तेक्वान्दो डोजाङ, कराते लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्र, उसु त्रिपुरेश्वरस्थित राखेपको सेमी कभर्डहल तथा क्रिकेट पुल्चोक इन्जिनिएरिङ कलेजको मैदानमा खेलाइनेछ ।राष्ट्रपति रनिङ सिल्डपछि तेश्रो उपत्यकाव्यापी विद्यालयस्तरीय डन्डी बियो प्रतियोगिता असार २६ र २७ गते हुनेछ ।त्यस्तै तीन खेल समावेश दोश्रो प्रधानमन्त्री कप विश्वविद्यालयस्तरीय राष्ट्रिय खेलकुद असार २९ देखि ३१ गतेसम्म हुनेछ ।