रत्ननगर (चितवन), १८ असार । इच्छाकामना गाउँपालिका–५ स्थित मुग्लिन नजिकै सडकबाट त्रिशूली नदीमा खसेर बेपत्ता भएका एक व्यक्तिको सकुशल उद्धार गरिएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी उपरीक्षक दीपक थापाका अनुसार नदी किनारमा ढुङ्गाको च्यापमा अड्किएको अवस्थामा उनलाई उद्धार गरिएको हो ।
बिहेका लागि काठमाडाँैबाट नवलपरासीको दलदले आउँदै गरेको लु १ ख ९८८१ नंको गाडीमा सवार नवलपरासी देवचुलीका ४५ वर्षीय रञ्जन चापागार्इं सडक छेउबाट चिप्लिएर त्रिशूलीमा खसेको जानकारी आएपछि प्रहरीले खोजी सुरु गरेको थियो । बिहान ५ बजेर ४५ मिनेटमा लडेका उनको करिब ८.३० बजे उद्धार गरिएको मुग्लिन प्रहरीले जनाएको छ । उनको अवस्था सामान्य छ । चाप परेर गाडी रोकिएका बेला बाहिर निस्किएका उनी सडक छेउबाट चिप्लिएर लडेका थिए । अग्लो भिर रहेकाले डोरीको सहायतामा प्रहरीले उनको उद्धार गरेको हो ।