चिलीलाई पराजित गर्दै जर्मनीले कब्जा गर्यो कन्फेडेरेसन कपको उपाधि

arjun Sports/खेलकुद , ७ वर्ष अगाडि

एजेन्सी – चिलीलाई फाइनल खेलमा १-०ले पराजित गर्दै जर्मनीले फिफा कन्फेडेरेसन कपको उपाधि जितेको छ। रसियामा जारी प्रतियोगिता फाइनल खेलमा लार्स स्टीन्डलले पहिलो हाफमा गरेको गोल निर्णायक साबित भयो।

डिफेन्डर मर्सेलो डियाजले आफ्नै बक्स नजिक गरेको गल्तिमा टिमो वेर्नरले बल चोर्दै स्टीन्डललाई पास दिएका थिए। गोलरक्षक बिट भइसकेको अवस्थामा स्टीन्डलले खाली पोष्टमा गोल गर्दै जर्मनीलाई अग्रता दिलाएका थिए।

खेलमा दुवै टोलीले थुप्रै अवसरहरु सिर्जना गरेपनि त्यसको सदुपयोग भने हुन् सकेको थिएन। दोश्रो हाफमा केहि रक्षात्मक देखिएको जर्मनीले काउन्टर अट्याकमा केहि राम्रो मौका पाएपनि फरवार्डहरुले थप गोल गर्न सकेनन्। केहि समय मैदानमा बादबिबाद चल्दा खेलमा रेफ्रीलाई हम्मे पारेको थियो।

खेलको अन्तिम समयमा चिलीले सुनौलो अवसर खेर फालेपछि जर्मनीको युवा टोलीले जर्मन फुटबलको इतिहासकै पहिलोपटक कन्फेडेरेसन कपको उपाधि जित्न सफल रह्यो।